Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन महोत्सव खाद्य अनुगमन : २० रूपैयाँको पानी ३५ मा बिक्री !

चितवन महोत्सव खाद्य अनुगमन : २० रूपैयाँको पानी ३५ मा बिक्री !

नारायणगढ : उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन र खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले चितवन महोत्सव परिसरमा अनुगमन गरेको छ । महोत्सवस्थलमा राखिएका होटल तथा खाजा पसलहरुको गुणस्तर जाँच्न तथा कमीकमजोरी हुन नदिनका लागि अनुगमन गरिएको हो ।

२२ वटा होटल तथा खाजा पसलको अनुगमन गर्दा १४ वटामा कैफियत देखिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए । ‘१.२ मिलिलिटरको आठ बोतल कलर्ड फ्रुट पल्प म्याद नाघेको पाइएकोले तत्काल नष्ट गरियो’, उनले भने, अत्यधिक रङ्ग मिसाइएका आलु चिप्स र मम पनि नष्ट ग¥यौँ ।’

विभिन्न खालका खानाका परिकार तार्ने तेलसमेत गुणस्तरहीन भइसकेको भेटिएको हुँदा करिब छ लिटर खाने तेलसमेत नष्ट गरिएको उनले बताए । ‘स्थलगत अनुगमनका क्रममा परीक्षण गर्दा पकाइरहेको तेलमा कोलारिटी परीक्षण गर्दा त्यसको गुणस्तर २५ भन्दा माथि भेटिएको हुँदा त्यस्ता तेल पनि तत्काल नष्ट गरेका छौँ’, उनले भने, ‘कमजोरी भेटिएका स्थानमा सचेत गराएका छौँ ।’

खाद्यको विषयमा उपभोक्ता स्वयं सजग हुनुपर्ने उनले सुझाव दिए । ‘कुनै पनि खाद्यवस्तुमा खाद्य रंग पनि मिसाएर पकाउन पाइँदैन’, उनले भने, ‘खान मिल्ने रंग पनि पकाएपछि खान नमिल्ने हुन्छ, त्यसले मानव स्वास्थ्यमा असर पु¥याउँछ ।’

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले महोत्सवमा बढी सामान प्रयोग हुने हुँदा गुणस्तरहीन सामग्रीको जोखिम बढ्न नदिनका लागि अनुगमन गरिएको बताए । ‘मेला–महोत्सव आउने अवलोकनकर्ताहरुले स्वस्थ खानेकुराको प्रयोग गर्न पाऊन् भनेर पनि महोत्सवकेन्द्रित अनुगमन गरेका हौँ’, उनले भने, ‘१५ दिने महोत्सव भएकोले हामी बीचमा पनि अनुगमन गर्न सक्छौँ ।’

महोत्सवस्थलभित्र प्रतिबोतल २० रूपैयाँ लेबल लगाएको पानी ३५ रूपैयाँसम्ममा बिक्री गरेको पाइएकोले बोतलमा लिखित मूल्यभन्दा बढी रकममा बिक्री नगर्न सुझाएको उनले बताए । ‘सुन्दा सामान्य लाग्छ तर लेबलमा २० रूपैयाँ मूल्य तोकेको पानी ३५ रूपैयाँमा बिक्री गर्नु त उचित भएन नि’, उनले भने, ‘यस्तै साना–साना विषयमा व्यापारी र उपभोक्ता दुवैले ध्यान दिन जरूरी छ ।’

चितवन महोत्सव परिसर निरीक्षण तथा अनुगमन उपसमितिका संयोजक दीपक काफ्लेले हरेक मेला–महोत्सवमा स्वच्छ अनुगमन हुनुपर्ने सुझाव दिए । आयोजक संस्था उद्योग वाणिज्य संघ–चितवनले जुनसुकै विषयलाई लिएर अनुगमन गरे पनि सहयोग गर्ने उनले बताए । ‘यस्ता अनुगमनले महोत्सवभित्र हुने अदृश्य विकृतिलाई हटाउन सहयोग पुग्छ’, उनले भने, ‘त्यसकारण क्याम्पाचौरमा हुने फुड फेस्टिबलमा पनि अनुगमन गरिदिन आग्रह गर्दछु ।’

खाद्य तथा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले तीन दिनदेखि बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । बिहीबार र शुक्रबार दासढुङ्गादेखि गोलाघाटसम्मका होटल तथा खाजा पसलहरुमा अनुगमन गरेको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘हामीले दासढुङ्गादेखि गोलाघाटसम्म ५२ वटा होटल तथा खाजा पसलहरुमा अनुगमन ग¥यौँ । त्यसमा केही स्थानमा कैफियत भेटिएको हुँदा सुध्रिने मौका दिएका छौँ’, उनले भने, ‘फेरि त्यही गल्ती दोहोरिएको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

व्यवसायी र उपभोक्ता दुवैलाई सचेत गराउनका लागि पनि अनुगमन आवश्यक रहेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए । सबैभन्दा बढी समस्या राम्रो देखाउने नाममा खाद्य सामग्रीमा रंग मिसाउने गरेको पाइएको हुँदा कुनै पनि पकाउने खाद्यवस्तुमा रंगको प्रयोग नगर्न र उपभोक्ताले पनि रंग प्रयोग गरिएका खाद्यवस्तु सेवन नगर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट