काठमाडौँ : तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ।तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको हो। बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ। साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ। कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गरिन्छ। पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छन्।
तिनीहरूले नै मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्छन् भन्ने विश्वास गरिन्छ। कुकुरलाई प्रसन्न राख्दा यमलोक जाँदा कडा सजाय भोग्नु पर्दैन र मृत्युको भय हुँदैन भन्ने धार्मिक विश्वासका साथ कुकुरको पूजा गरिएको हो। महाभारत कथा अनुसार जब पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्छन्, बाटोमा एक एक गरी सबै ढल्छन्। अन्तिममा धर्मराज युधिष्ठिर र उहाँसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन्। स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्गभित्र छिर्न अनुमति दिई कुकुरलाई बाहिरै छोड्न भन्नुहुन्छ तर युधिष्ठिरले आफ्नो सङ्कटको साथीलाई छोडेर आफू मात्र स्वर्ग नजाने अडान लिनुहुन्छ। युधिष्ठिरको यो धर्म र वफादारिता देखेर त्यो कुकुर वास्तविक रूपमा प्रकट हुन्छ, जो स्वयं ‘धर्मराज’ (यमराज) हुनुहुन्थ्यो।
त्यस्तै तिहारको सबैभन्दा उज्यालो पक्ष लक्ष्मीपूजा हो। कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ। पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गरेका थिए, त्यस क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनुभयो। लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गरी पूजाआजा गरेका थिए। त्यसैले हरेक वर्ष यो दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरिन्छ।
पौराणिक कथा अनुसार भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्ने क्रममा पाताल लोक पठाउनुभएको थियो। राजा बलिको दानशीलताबाट प्रसन्न भई विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभयो। सोही समयमा लक्ष्मीले बलि राजालाई आफ्नो भाइ बनाइ हातमा रक्षा बन्धन (धागो) बाँधिदिनुभयो र त्यसको बदलामा बलि राजाको कडा पहरामा रहेका आफ्ना पति नारायण (विष्णु) लाई मुक्त गराउनुभयो। बलि राजाको राज्यमा लक्ष्मीको आशीर्वादले सधैँ धनधान्य भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसियालीमा पनि यो रात घर घरमा दीप प्रज्वलन गरी उज्यालो बनाउने गरिन्छ।
पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ। यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुने छ। तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ। सो दिन भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेट उत्तम मानिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij