Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

नेपालगन्जमा सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्ति निर्माण

नेपालगन्जमा सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्ति निर्माण

नेपालगन्ज : बागेश्वरी माताको सहरको रुपमा परिचित पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको थप धार्मिक पहिचान बढाउने उद्देश्यले यहाँ देशकै सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्तिको निर्माण सम्पन्न गरिएको छ । सो मूर्ति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बागेश्वरी मन्दिर नजिकै रहेको हनुमानगढी परिसरमा निर्माण गरिएको हो ।

नेपालगन्जलाई विशेष धार्मिक सहरका रुपमा नेपाल र भारतमा चिनाउने उद्देश्यले उपमहानगरपालिकाले देशकै सबैभन्दा अग्लो १०८ फिटको हनुमानको मूर्ति निर्माण गरेर तयार पारेको उपमहानगरका नगर प्रमुख प्रशान्त बिष्टले बताउनुभयो ।

उहाँले भारतको अयोध्यामा अत्याधुनिक राममन्दिर निर्माण भएपछि भगवान राम र हनुमानबिचको सम्बन्धलाई जोड्दै नेपालगन्जलाई अयोध्यासँग धार्मिक रुपमा जोड्ने उद्देश्यले मूर्ति निर्माण गरिएको भनाइ राख्नुभयो । नगर प्रमुख विष्टले भन्नुभयो, “यसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउनुका साथै अयोध्यासँगको धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ ।”

सबैभन्दा अग्लो मूर्ति निर्माणले सहरको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुने अपेक्षा गरिएको जनाउँदै नेपालगन्जका अगुवा कृष्ण प्रसाद श्रेष्ठले अब यो सहर पनि पश्चिम नेपालको मुख्य धार्मिक सहरका रुपमा चिनिने बताउनुभयो ।

उहाँले भारतको अयोध्या र नेपालको नेपालगन्ज तथा जनकपुरलाई राम र हनुमानको दर्शनको पवित्रस्थलका रुपमा स्थापित गरेर सम्बन्ध सुदृढ बनाउदै जानुपर्नेमा जोड दिनुभयो ।

उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माका अनुसार मूर्ति निर्माणका लागि १४ करोड ४ लाख ६३ हजार रुपियाँ लागत रहेको थियो । निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनी जम्बुदिप कन्स्ट्रक्सन प्राली बसुन्धरा काठमाडौँसँग सम्झौता भएको थियो । सुरुमा २०८१ चैत २ गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएपनि पछि थप गरेर २०८३ असोज ३० गतेसम्म पुर्‍याइएको थियो ।

मूर्ति निर्माणमा सङ्लग्न कालीगढ दलवीर सुनार सेन्चुरीले हनुमानगढीको भौतिक संरचनासहित मूर्ति निर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो । सुनारका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको उक्त मूर्तिको फाउन्डेसन र प्लेटफर्म निर्माणपछि मूर्तिको संरचना तयार पार्ने काम अघि बढाइएको थियो । हनुमानगढीमा हरेक वर्ष हनुमान जयन्तीका अवसरमा विशेष उत्सव समेत आयोजना हुँदै आएको छ । सो उत्सव र भारत र नेपालका हजारौं श्रद्धालुको सहभागिता रहने गरेको छ ।

मूर्ति निर्माण सम्पन्न भएसँगै हनुमानगढी नेपालगन्जको नयाँ धार्मिक आकर्षणका रूपमा विकास हुने र यसले स्थानीय पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट