Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

सल्यान : सल्यानका विभिन्न स्थानमा तीन सातामा एक दर्जन साना–ठूला सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गत बिहीबार बेलुकी बागचौर नगरपालिका–१० माथिल्लो मोख्लास्थित भित्री सडकखण्डमा मोख्ला बजारदेखि माथिल्लो मोख्लातर्फ जाँदै गरेको रा.१ह ६१२६ नम्बरको अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–५ सिरवालीका ३५ वर्षीय रेशम राउतको मृत्यु भएको थियो ।

शुक्रबार बेलुकी शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु.१ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिकको भित्री सडकखण्डमा दुर्घटना हुँदा साउने रोका, कृष्ण बस्नेत र सीता विकको मृत्यु भएको थियो ।

त्यस्तै, बनगाड कुपिण्डे नगरपालिका–११ चौरबाट बालुवा सङ्ग्रही जाँदै गरेको रा.१च १७२३ नम्बरको बोलेरो जिप खलंगा–बालुवा सङ्ग्रही सडकखण्डको गरामा दुर्घटना हुँदा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको थियो ।

यस्तै, गत बिहीबार मोख्लामा अटो दुर्घटना हुँदा चालक, शुक्रबार सिद्धकुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा ७ जना, बागचौरमा टिपर दुर्घटना हुँदा एक जना र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

विभिन्न स्थानमा भएका ४ मोटरसाइकल दुर्घटनामा ६ जना र शुक्रबार दुई स्थानमा ट्याक्टर र एक स्थानमा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । दुर्घटनामा २० जना गम्भीर घाइते भएका छन् । उनीहरूको दाङ, सुर्खेत र नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वरी रोकायले जीर्ण सडक, चालकको लापरबाही, तीव्र गति र क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना भएको बताए । चाडपर्वमा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरी र ट्राफिक कार्यालय सल्यानले सचेतना कार्यक्रम सञ्चालन गर्दै विभिन्न स्थानमा ट्राफिक जाँच गरे पनि चालकले बेवास्ता गर्दा कार्यक्रम प्रभावकारी नभएको उनले बताए ।

'तिहार नजिकिँदै गर्दा मानिसहरूको चहलपहल बढेको छ । गाडी बढी चलेका छन् । वर्षातले क्षति पुर्‍याएका जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडक मर्मत भएका छैनन् । मर्मत नगर्दा धेरै सडकमा खाल्डाखुल्डी परेका छन् । जोखिम मोलेर चालकले गाडी चलाइरहेका छन् । चालक सजग भए दुर्घटना कम हुन सक्छ,' उनले भने।

ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमसम्बन्धी सचेतना फैलाउँदै आए पनि सामान्य कुरामा चालकले सावधानी नअपनाउँदा दुर्घटना भइरहेको बताए । दुर्घटना भएका अधिकांश घटनाको अध्ययन गर्दा सडकको दुरवस्था र चालकको लापरबाही नै मुख्य समस्या देखिएको उनले जानकारी दिए ।

ट्राफिक र प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आए पनि ट्राफिक नियम पालना गर्न चालकले बेवास्ता गर्दा ती कार्यक्रम प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट