Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

फ्रान्समा सरकारविरुद्ध विशाल प्रदर्शन, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा सरकारविरुद्ध विशाल प्रदर्शन, ७० हजार सुरक्षाकर्मी परिचालन

एजेन्सी : बढ्दो महँगी, जीवनयापनको लागत र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध फ्रान्समा ६ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बिहीबार पाँच श्रमिक युनियनको आह्वानमा भएको देशव्यापी प्रदर्शनमा सार्वजनिक तथा निजी क्षेत्रका कामदारसँगै विद्यार्थीहरू पनि सहभागी भएका थिए । फ्रान्सका आन्तरिकमन्त्री लरेन्ट नुनेजका अनुसार दिउँसोसम्म २ लाख ७० हजार रहेको प्रदर्शनकारीको संख्या साँझसम्म बढेर ६ लाख नाघेको थियो ।

प्रदर्शनकारीले न्यूनतम ज्याला वृद्धि, समानुपातिक पारिश्रमिक वृद्धि, कर प्रणालीमा सुधार तथा सार्वजनिक सेवाको गुणस्तर बढाउन माग गरेका छन् । विद्यार्थीहरूले पनि शैक्षिक वातावरण सुधार गर्नुपर्ने मागसहित आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । पेरिस, लियोन, मार्सेली लगायतका प्रमुख सहरमा ठूला र्‍याली निकालिएका थिए । प्रदर्शनलाई नियन्त्रणमा राख्न फ्रान्सभर करिब ७० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसअघि अक्टोबरमा भएका विद्यार्थी प्रदर्शनका क्रममा केही स्थानमा हिंसात्मक घटना भएका थिए । प्रदर्शनकारीले पसलहरूमा तोडफोड गर्नुका साथै मध्य फ्रान्सको लिमोजेसस्थित नगरपालिकाको भवनमा आगजनी गरेका थिए ।

राष्ट्रपति इम्मानुएल म्याक्रोँले प्रदर्शनका क्रममा भएको हिंसाका लागि अति वामपन्थी समूहलाई जिम्मेवार ठहर गरेका थिए । उनले यस्ता घटनालाई नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने बताएका थिए । बढ्दो महँगी, पारिश्रमिक र सार्वजनिक सेवाको अवस्थालाई लिएर फ्रान्समा श्रमिक तथा विद्यार्थीको असन्तुष्टि सडकमा पोखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट