काठमाडौँ : रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर–३ का अध्यक्ष केशरमान विकलाई प्रहरी हिरासतमा कुटपिट भएको आरोप लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्य समेत रहेका विकलाई प्रहरीले हिरासतमा कुटेर घाइते बनाएको भन्दै घटना छानबिन गर्न नेकपाले माग गरेको हाे ।नेपाली कम्युनिस्ट पार्टीका रुकुम पश्चिम जिल्लाका संयोजक गोविन्द रोका र सह संयोजक सुरज परियारले विज्ञप्ति प्रकाशन गरेर कुटपिटमा संलग्नहरूमाथि कानुनी कारबाही गर्न माग गरेका हुन् । बिहीबार अभद्र व्यवहार सम्बन्धी मुद्दामा फरार गोपाल विकलाई पक्राउ गर्न गएका प्रहरीलाई गालीगलौज गरेर हातपात गरेको आरोपमा प्रहरीले केशरमानलाई नियन्त्रणमा लिएको थियो ।
केशरमानले उनका भाइ नाता पर्ने फरार आरोपी ३३ वर्षीय गोपाल विक भन्ने वीरेन्द्र विकलाई प्रहरीले फेला पार्दा पनि अवरोध गरेर पक्राउ गर्नबाट जोगाएको प्रहरीको आरोप छ ।
राष्ट्रसेवकको काममा बाधा गरेपछि केशरमानलाई पक्राउ गरेर राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने मुद्दामा ३ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर झबिन्द्र परियारले रातोपाटीलाई बताए । अनुसन्धानको लागि म्याद लिएपछि केशरमानलाई हिरासत कक्षभन्दा अगाडीको वेटिङ रुममा प्रहरीले कुटपिट गरेको नेकपा रुकुमका संयोजक सचिन रोकाले दाबी गरेका छन् । उनले भने– ‘उहाँमाथि प्रहरी कर्मचारीले हिरासत अगाडी कुटपिट गरेका हुन् ।’स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान ३ बजे प्रहरीले केशरमानलाई प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ । उनको अहिले सुर्खेतमा उपचार भइरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सन्तोष सिंह राठौरले केशरमानलाई कुटपिट नगरेको दाबी गरेका छन् । उनले भने, ‘त्यस्तो होइन, उहाँलाई हिरासतमा पनि सम्मानपूर्वक नै राखिएको थियो ।’
आठविसकोट नगरपालिका वडा नम्बर–१ स्थित कालिका मन्दिर क्षेत्रको सडकमा गोपाल विकलाई पक्राउ गर्न खोज्दा केशरमान बिक र ड्युटीमा खटिएका प्रहरीको बिचमा हातपात भएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विज्ञप्ति प्रकाशन गरेर भाइलाई नियन्त्रणमा लिन खोज्दा केशरमानले एक्कासि प्रहरीसँग वादविवाद गर्दै धकेलेर भाइलाई भगाएको र ड्युटीमा खटिएका प्रहरीको कपडा च्यातेको दाबी गरेको छ ।नेकपाका जिल्ला संयोजक रोकाले वारदात स्थलमा हातपात भएको भिडियो देखाउने चुनौती दिएका छन् । रोकाले रातोपाटीसँग भने, ‘प्रहरीलाई हातपात गरेको भिडियो देखाउन चुनौती दिन्छु ।’

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij