Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

हवाई सुरक्षा सुधार्न क्यान विभाजनको तयारी, नियमन र सेवा सञ्चालन छुट्टाछुट्टै हुने

हवाई सुरक्षा सुधार्न क्यान विभाजनको तयारी, नियमन र सेवा सञ्चालन छुट्टाछुट्टै हुने

काठमाडौं : नेपाल सरकारले हवाई सुरक्षामा सुधार ल्याउन नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याएर दुईवटा छुट्टाछुट्टै निकाय बनाउने तयारी थालेको छ।

लगातार हुने विमान दुर्घटनाका कारण हवाई सुरक्षामा गम्भीर प्रश्न उठिरहेका बेला सरकारले नियमनकारी (नियामक) र सेवा प्रदायक (सञ्चालक) निकायलाई अलग्गै बनाउन लागेको हो।संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलका अनुसार नयाँ संरचनाअनुसार एउटा निकायले हवाई सुरक्षा, नियमन र सुपरिवेक्षणको जिम्मेवारी सम्हाल्नेछ। अर्को निकायले विमानस्थल सञ्चालन, पूर्वाधार विकास तथा उड्डयन सेवाको व्यवस्थापन गर्ने समाचार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा गोपाल शर्माले लेखेका छन्।

पर्यटनमन्त्री पौडेलले रोयटर्सलाई दिएको जानकारी अनुसार, हालको एउटै संस्थाले नियमन र सेवा दुवै प्रवाह गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस उत्पन्न भएको थियो। दुई निकाय अलग्गै बनाउनाले सुरक्षा निगरानी थप प्रभावकारी र विश्वासयोग्य हुने सरकारको विश्वास छ।

मन्त्री पौडेलले गत हप्ता संसदमा दुईवटा छुट्टाछुट्टै विधेयक दर्ता गराएका छन्। यो विधेयक पारित भएपछि क्यानको सेवा प्रदायकको भूमिका नयाँ बन्ने 'नेपाल एयर सर्भिस अथोरिटी' (नासा) ले सम्हाल्नेछ भने क्यानले नियमनकारी निकायको रूपमा मात्र काम गर्नेछ।

विधेयक पारित गर्न सरकारसँग आवश्यक बहुमत भए तापनि यो नयाँ व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउन केही महिना लाग्न सक्ने विश्लेषण गरिएको छ।

नेपालमा सन् २००० यता भएका २१ वटा हवाई तथा हेलिकप्टर दुर्घटनामा परी कम्तीमा ३८० जनाको ज्यान गइसकेको छ। कमजोर हवाई सुरक्षाकै कारण युरोपेली सङ्घ (EU) ले नेपाली एयरलाइन्सहरूलाई आफ्नो आकाशमा उडान भर नपाउने गरी प्रतिबन्ध (ब्ल्याकलिस्ट) लगाउँदै आएको छ।

मन्त्री पौडेलका अनुसार संरचनात्मक परिवर्तनका साथै जनशक्ति तालिम र अन्य सुरक्षात्मक कदमहरू पनि चालिँदैछ। नेपालले युरोपेली सङ्घ समक्ष सच्याउने कार्ययोजना पेस गरिसकेको र त्यो हाल समीक्षाको क्रममा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij