काठमाडौं : राजनीतिज्ञ मानबहादुर स्याङ्बोले भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नु सकारात्मक भए पनि त्यसले मात्र सुकुम्बासी समस्या पूर्ण रूपमा समाधान नहुने बताएका छन्।प्रधानमन्त्री बालेन्द्र साहले पछिल्लो सात महिनामा ५ हजार ७३७ जना भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको दाबी गरेपछि स्याङ्बोले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले वर्तमान सरकारले गरेको कामलाई अस्वीकार गर्न नहुने भए पनि विगतका सरकार तथा भूमिसम्बन्धी आयोगले गरेका प्रयासलाई समेत पूर्ण रूपमा नकार्न नमिल्ने बताए।स्याङ्बोका अनुसार विगतमा गठन भएका विभिन्न भूमिसम्बन्धी आयोग तथा संरचनाले भूमिहीन र सुकुम्बासीको समस्या समाधानका लागि प्रक्रिया अघि बढाएका थिए। कतिपय स्थानमा जग्गाधनी प्रमाणपत्र वितरणसमेत भएको र थप वितरणका लागि प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ।
उनले लालपुर्जा वितरणलाई मात्रै सरकारको उपलब्धिको मुख्य आधार बनाउनुको सट्टा बाँकी भूमिहीन नागरिकको समस्या समाधानमा ध्यान दिनुपर्ने बताए। वास्तविक भूमिहीनको पहिचान, अव्यवस्थित बसोबासको व्यवस्थापन, सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र सुरक्षित आवासको सुनिश्चितता आवश्यक रहेको उनको भनाइ छ।स्याङ्बोले सुकुम्बासी बस्तीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत पूर्वाधारको पहुँच विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। उनका अनुसार जग्गाधनी प्रमाणपत्र प्राप्त गरेपछि पनि नागरिकले आधारभूत सुविधा नपाए समस्या पूर्ण रूपमा समाधान भएको मान्न सकिँदैन।
उनले महँगी, बेरोजगारी र आम नागरिकको दैनिक जीवनसँग जोडिएका समस्यामा समेत सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए। बलियो जनादेश पाएको सरकारले नागरिकको अपेक्षाअनुसार दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।सुकुम्बासी समस्या कुनै एक सरकार वा राजनीतिक दलको प्रयासबाट मात्र समाधान हुन नसक्ने भन्दै स्याङ्बोले संघ, प्रदेश र स्थानीय तहसँगै राजनीतिक दल, विज्ञ तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।उनले विगतका राम्रा कामलाई निरन्तरता दिँदै कमजोरीबाट पाठ सिकेर बाँकी भूमिहीन तथा सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij