काठमाडौं : बजारमा एलपी ग्यासको आपूर्ति असहज भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट हुने खुद्रा बिक्री तत्काल रोक्न माग गरेको छ।महासंघले आधिकारिक डिलरमार्फत मात्रै ग्यास बिक्री–वितरणको व्यवस्था मिलाउन नेपाल आयल निगमसँग माग गरेको हो।महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित र पारदर्शी बनाउन ध्यानाकर्षण गराएको जनाएको छ।
महासंघका अनुसार उद्योगबाटै उपभोक्तालाई ग्यास बिक्री हुँदा नियमित डिलर प्रणाली प्रभावित भएको छ। त्यसैले उद्योगबाट हुने खुद्रा बिक्री रोक्दै आधिकारिक डिलरमार्फत मात्रै बिक्री–वितरण गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने उसको माग छ।महासंघले अहिले बजारमा देखिएको ग्यास अभावको वास्तविक कारण पहिचान गर्नसमेत निगमको ध्यानाकर्षण गराएको छ। सरोकारवाला पक्षसँग छलफल र परामर्श गरी बजारमा सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने महासंघको भनाइ छ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहनु नै ग्यास अभाव देखिनुको प्रमुख कारण भएको दाबी गरेका छन्।बजारमा ठूलो संख्यामा सिलिन्डर रहे पनि विभिन्न ग्यास उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। नयाँ सिलिन्डर बिक्री भइरहँदा नेपाल आयल निगम र सरकारले प्रभावकारी नियमन नगरेको भन्दै महासंघले उद्योग, निगम तथा सरकारको भूमिकामाथि समेत प्रश्न उठाएको छ।
महासंघले हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४।२ किलो क्षमताको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नसमेत माग गरेको छ। बजारमा रहेका सिलिन्डरको प्रभावकारी व्यवस्थापन तथा अनावश्यक सिलिन्डरको धरौटी फिर्तासम्बन्धी समस्या समाधान गर्नुपर्ने उसको भनाइ छ।विद्यमान सिलिन्डरको व्यवस्थापन नगरी थप आकार र क्षमताका सिलिन्डर बजारमा ल्याउँदा समस्या झन् बढ्न सक्ने महासंघले जनाएको छ। उसले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलो क्षमताका नयाँ सिलिन्डर बिक्री गर्ने योजनाप्रति समेत असहमति जनाएको छ।
महासंघका अनुसार १४।२ किलोका विद्यमान सिलिन्डरको उचित व्यवस्थापन नगरी फरक क्षमताका नयाँ सिलिन्डर बजारमा ल्याउँदा उपभोक्तामाथि थप आर्थिक भार पर्न सक्छ।ग्यास आपूर्तिमा देखिएको असहजता समाधान गर्न वास्तविक समस्या पहिचान, सरोकारवालासँग परामर्श, उद्योगबाट हुने खुद्रा बिक्री नियन्त्रण, डिलर प्रणालीमार्फत पारदर्शी वितरण र विद्यमान सिलिन्डरको व्यवस्थापन एकसाथ अघि बढाउनुपर्ने महासंघको माग छ।महासंघले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको, उद्योगबाट नयाँ सिलिन्डर बिक्री भइरहेको र त्यसले वितरण प्रणालीमा असर पारेको लगायतका दाबी गरे पनि यसबारे नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूको धारणा भने सार्वजनिक भएको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij