काठमाडौँ : गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।
सोमबार मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार उनलाई निलम्बन गर्दै घटनाको छानबिन गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ।
मन्त्रालयले तोकिएको जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।
विज्ञप्तिमा निजामती तथा सुरक्षा निकायका सबै कर्मचारीले कानुनबमोजिम पदीय आचरण पालना गर्नुपर्ने, सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नुपर्ने दायित्व रहेको उल्लेख गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij