पर्वत : पर्वतको जलजला गाउँपालिका–७ फर्सेस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापीकिताब बाढीले बगाएको छ।कालीगण्डकी नदी उर्लेर उनको घरगोठ बगाउँदा कापीकिताब, विद्यालय पोसाक र झोला बगेका हुन्। बगेको खाद्यान्न र लत्ताकपडाका लागि राहत मिले पनि उनले पढ्ने किताबबारे कसैको चासो देखिएको छैन। यो चिन्ता उनी स्वयं भोगिरहेका छन्।दस दिनदेखि विस्थापित लस्तीवासी खेतमा प्लास्टिकको टनेलमा बसेका छन् भने कतिपय आफन्तको घरमा पुगेका छन्। दीर्घकालीन रूपमा खानेबस्ने समस्या भए पनि जिल्ला र प्रदेश तहदेखि आएको राहतले सबैका छाप्रा र कोठामा चामलका बोरा, तरकारी, नुन र तेल पुगिसकेको छ। सबैले खान पाएका छन्, तर किताब बगेका बालबालिकाको आफ्नै पीडा छ। गाउँमा राहत बाँड्न आएका धेरै समूहको भीडमा किताब पनि ल्याइदिएका छन् कि भनी हेर्ने गरेको कक्षा ८ मा पढ्ने सुलभ थापा बताउँछन्।
कालीगण्डकीको बाढीले पर्वतको फर्सेस्थित शिव माविमा पढ्ने ४० विद्यार्थीको कापी, कलम, किताब र विद्यालय पोसाक बगाएको छ। विद्यालय पनि अहिलेसम्म खुलेको छैन। अभिभावकको सल्लाहमा आजदेखि विद्यालय खोल्ने तयारी भए पनि विद्यार्थीहरू रित्तै र पोसाक अभावमा पढ्न जान बाध्य छन्। परीक्षा कसरी दिने भन्नेमा उनीहरूलाई चिन्ता छ।स्थानीय पार्वती आचार्यले भनिन्, ‘पीडितको घर छेउमा गएर कठैबरा भनिदिनेहरूले त झनै पीर पार्ने रहेछन्।’ बालबालिकाको किताब खोजेर पनि नपाइने उनले बताइन्।
शिव माविकी शिक्षिका लक्ष्मी मल्ल थापाको पनि घरखेत बगेको छ। सुत्केरी अवस्थामा रहेकी थापा घर नभएपछि छिमेकीको आश्रयमा बसेकी छन्। श्रीमान् अर्जुनसहित तीन छोरा र लक्ष्मी सुकुम्बासी जस्तै बनेका छन्। जागिर भए पनि उनले तत्काल घरव्यवहार चलाउन नसक्ने अवस्था आइपरेको छ। शिक्षककै छोराछोरीको कापीकिताब छैन।खेतीकिसानी गरेर बसेकाहरूको यहाँ झन् विजोग छ। विभिन्न स्थानबाट हेर्न र अवलोकन गर्न आइरहे पनि खाने अन्न र केही थान पालबाहेक उनीहरूले केही पाएका छैनन्। कक्षा १० मा पढ्ने दिवस केसी र कक्षा ९ मा पढ्ने दीपा दाजुबहिनीले कापीकिताब बगेकामा चिन्ता व्यक्त गरेका छन्। दिवसले भने, ‘परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने? बजारमा खोज्न गए पनि कापीकिताब पाइँदैन।’
बालबालिकाको यो समस्याबारे अहिलेसम्म पुगेका दर्जन बढी राहत वितरणका समूहले ध्यान दिएका छैनन्। बरु राहतमा कसले कति बोरा चामल र पाल पाए भन्ने विषयमा विवाद भइरहेको देखिन्छ। सडक छेउमा कोही आइपुग्दा दौडेर राहत हो कि भन्दै पुग्ने स्थानीयले आफ्नै छोराछोरीको कापीकिताबबारे अहिलेसम्म सोच्न भ्याएका छैनन्।जिल्ला र आसपासका धेरै मानिसले यहाँ पुगेर के कति धनमाल क्षति भयो भन्ने आँकडा निकाल्दा पनि बालबालिकाको समस्याबारे चासो राखेको पाइँदैन। शिव माविका कक्षा ८ मा पढ्ने दिवस विक, कक्षा १ का रेमन विक, निकिता शाह, कृतिका आचार्य, बिना केसी र उदय विक जस्ता धेरै विद्यार्थी दिउँसोको समयमा आफ्नो भत्केको र बगेको घर रहेको बगरमा गएर बालुवा खोसेर किताब खोज्ने गर्छन्। तर, भेटिने अवस्था छैन।
प्रधानाध्यापक अमृत सापकोटाले भने, ‘शैक्षिक वर्षको मध्य भाग भयो, किताब पाउने समस्या छ, उनीहरूलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ।’ बालबालिकालाई एउटा पेन्सिल र इरेजरको पनि महत्त्व बढी हुने उनले बताए। बाढीमा बगेको विवरण विद्यार्थी भेट्दा थाहा पाएको उनको भनाइ छ। विद्यालय भवनमा हिलो मात्र पसे पनि अभिभावक घरबारविहीन भएकाले उनीहरुकै सल्लाहमा मात्र कक्षा सञ्चालन गर्ने सापकोटाले जानकारी दिए।कालीगण्डकीको झोलुङ्गे पुल बगेपछि बागलुङको ढोडेनीबाट आउने बालबालिका र एक शिक्षकलाई पनि विद्यालय आउन सास्ती छ। पाँच मिनेटमा आइपुग्ने विद्यालय पुग्न अब दुई घण्टाको घुमाउरो बाटो धाउनुपर्ने बाध्यता छ। असोज ११ गते रातिको बाढीले बगेका घरसहित ७१ घरमा बालुवा पसेर घरभित्रको खाने सामग्री नष्ट भएको छ। बचेखुचेका सामान पनि हिलाम्मे छन्। भग्नावशेष भित्र छिर्न पनि जोखिम छ भने नदीले बगाएर ल्याएका काठ र दाउराको थुप्रो लागेको छ।
स्थानीय दीपा कार्कीले भनिन्, ‘सबै सामान बगे पनि मदुसमा धान थियो, हेर्न गएको हिलोले भरिएको रहेछ। माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु, पखालेर केही बाँकी रहन्छ कि!’
अब यो स्थानमा बस्ने कि नबस्ने भन्नेमा उनीहरू अन्योलमा छन्। सुरक्षित बासका लागि अन्यत्र जग्गा नभएकाले आफ्ना बाध्यताबारे वडा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइदिन भनेको उनले बताइन्।यता जलजला गाउँपालिकाले विस्थापितहरूको लगत सङ्कलन गरी पुनःस्थापनाका लागि जिल्ला प्रशासन र पालिकाले पहल गरिरहेको अध्यक्ष राजु आचार्यले जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij