हुम्ला : हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन सीमास्थित हिल्सा जोड्ने सडक अवरुद्ध भएको छ। नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा सडक अवरुद्ध भएपछि हिल्सा–सिमकोट सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुवै स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। माथिल्लो हिमाली क्षेत्रमा १२ किलोमिटरभन्दा बढी सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको प्रशासनले जनाएको छ।
सडक बन्द हुँदा हिल्सा तथा नाम्खा गाउँपालिकाका विभिन्न बस्तीबाट सिमकोट आउने नागरिक प्रभावित भएका छन्। दसैँ नजिकिँदै गर्दा घर फर्कने नागरिक, स्थानीय व्यापारी तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ। सडकमार्फत ढुवानी हुने दैनिक उपभोग्य सामग्री तथा स्थानीय उत्पादनको ओसारपसारमा समेत असर परेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले अवरुद्ध सडकलाई एक साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताए। तत्काल थप हिमपात नभए उक्त अवधिभित्र सडक खुलाउन सकिने उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij