काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको भन्दै कडा आलोचना गरेका छन्।
राष्ट्रिय सभामा बोल्दै नेता सुवेदीले सरकार लोकतन्त्र र संविधानको रक्षा गर्नुको सट्टा ‘विजयको उन्माद’ मा रमाएको र प्रश्न गर्ने आम नागरिकलाई होच्याउने काम गरिरहेको आरोप लगाएका हुन् सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने अमानवीय र जनविरोधी काम गरिरहेको जिकिर उनले गरे। बेपत्ता व्यक्तिको खोजीमा रहेकी महिलाप्रति दुर्व्यवहार भएको, अस्पतालको गेटमा सुत्केरी हुनुपर्ने बाध्यता सिर्जना भएको र बालबालिकामाथि हिंसात्मक घटनाहरू हुँदा समेत सरकार असंवेदनशील बनेको उनले बताए।
प्रधानमन्त्री र सरकारको निर्माण प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै सुवेदीले भने,‘तपाईंहरूको पार्टी र सरकार कुनै विचारभन्दा पनि नकारात्मकताको प्रचारबाट जन्मिएको हो। जनताले भोट दिएर विश्वास गरे पनि अहिलेको नेतृत्वले प्रश्न सोध्ने नागरिकलाई झोले वा मूर्खको संज्ञा दिँदै तानाशाहको शैली प्रदर्शन गरिरहेको छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बालुवाटार बोलाएर नियन्त्रणमा राख्ने प्रयास गरिएको उल्लेख गर्दै उनले सरकारले संवैधानिक निकायको मर्यादा मिचेको आरोप लगाए। ३५ वर्षे राजनीतिक परिवर्तनका उपलब्धिहरूलाई ओझेलमा पार्ने प्रयास भइरहेको दाबी गर्दै सुवेदीले लोडसेडिङको अन्त्य, सडक सञ्जालको विस्तार र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासजस्ता महत्त्वपूर्ण उपलब्धिहरूलाई सरकारले बेवास्ता गरेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij