हुम्ला । उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्। हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएका हुन्।
अध्यागमन अधिकृत विमल पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का बासिन्दा छन्। उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन्। गत शुक्रबार हिल्सा पुगेका उनीहरू त्यसपछि हिमपात सुरु भएपछि नाकामै रोकिएका हुन्।
भारी हिमपातपछि कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ। हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार आगामी अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका पुनः सञ्चालन हुने जानकारी प्राप्त भएको छ।
हिल्सा पुग्ने बाटो खुलाउन कठिनाइ
चीनतर्फ सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फको बाटो सञ्चालनमा ल्याउन थप समय लाग्ने भएको छ। हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं। ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सा क्षेत्रमा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ।
हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ हटाउन समय लाग्ने उनको भनाइ छ। हिल्सामा एउटा मात्र खन्ने यन्त्र रहेकाले सडक खुलाउने काम प्रभावित भएको छ। इन्धनको समेत समस्या रहेकाले थप कठिनाइ भइरहेको उनले बताए।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।
यस वर्ष ६ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन
यस वर्ष हालसम्म हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन्। अध्यागमन अधिकृत पौडेलका अनुसार तीमध्ये अधिकांश भारतीय नागरिक छन्। त्यसपछि बेलायत, अमेरिका र नेपालका पर्यटक रहेका छन्।
कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिन लागेका बेला भएको भारी हिमपातले हिल्सा नाकाको आवतजावत प्रभावित हुनुका साथै स्थानीय व्यापार र सीमा क्षेत्रको दैनिक जनजीवनमा समेत असर परेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij