काठमाडौँ : उपत्यका भित्रिने तथा बाहिरिने सबै प्रमुख सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
बाढीपहिरोका कारण अवरुद्ध भएका सडकमा हिजोदेखि नै यातायात सञ्चालनमा आएको हो। धादिङको पृथ्वी राजमार्गअन्तर्गत चालिसेमा गएराति सामान्य पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो।
पहिरो हटाएपछि अहिले उक्त स्थानमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। सडक पूर्ण रूपमा खुलाउने उद्देश्यले पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि पनि पृथ्वी राजमार्गअन्तर्गत धादिङका कृष्णभीर, परेवाभीर, बाँगेमोड, ज्यामिरेघाट, चालिसेलगायतका क्षेत्रमा पहिरो खस्नुका साथै सडकमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो।
सडक विभाग तथा स्थानीय प्रशासनको सक्रियतामा सडकका अवरोध हटाइएपछि पृथ्वी राजमार्गमा यातायात क्रमशः सहज बन्दै गएको छ।
यसैगरी, काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो हटाएपछि सञ्चालनमा आइसकेको छ।
बाढीबाट क्षति पुगेका तथा डाइभर्सन बगेका स्थानमा वैकल्पिक व्यवस्था गरी बीपी राजमार्गसमेत सञ्चालनमा ल्याइएको छ। अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा पनि नियमित रूपमा सवारीसाधन चलिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij