Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जाजरकोटमा वृद्ध हत्या प्रकरण : १४ महिनापछि माइली बुहारी पक्राउ

जाजरकोटमा वृद्ध हत्या प्रकरण : १४ महिनापछि माइली बुहारी पक्राउ

सुर्खेत  :  जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या भएको करिब १४ महिनापछि उनकी माइली बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।  जुनिचाँदे इलाका प्रहरी कार्यालयले  घटनामा संलग्न रहेको भन्दै शर्मिला शाहीलाई पक्राउ गरेको हो । 

गंगारामको ११ साउन २०८२  राति करिब ८ बजे आफ्नै घरको सिँढी नजिक धारिलो वस्तु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 
घटना भएको लामो समयपछि मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ २०८३ मा आफ्नी माइली भाउजू शर्मिला शाही घटनामा संलग्न रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए  ।  जाहेरी पश्चात् जाजरकोट जुनिचाँदे इलाका प्रहरी कार्यालय गर्खाकोटे पक्राउ अनुमति लिएर शर्मिलालाई उनकै घरबाट असोज ८ मा  पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार शर्मिलालाई इलाका प्रहरी कार्यालय जुनिचाँदे गर्खाकोटबाट अड्डासार  गरी असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको थियो। सोही दिन प्रहरीले जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा  १० दिनको म्याद थप अनुमति लिएको छ । 

सूचना अधिकारी खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटले  अहिले घटनाको थप अनुसन्धान गरिरहेको छ । घटनाको करिब १४ महिनापछि मात्रै मृतकका जेठा छोराले शर्मिलाविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धानले नयाँ मोड लिएको छ ।  पक्राउ परेकी शर्मिलामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट