Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सर्जक भाइसन बर्देवाको बिदाइमा रसाएका आँखाहरू

सर्जक भाइसन बर्देवाको बिदाइमा रसाएका आँखाहरू

काठमाडौँ :  इटहरीको बुढीगंगा मुक्तिघाट सधैँजसो सन्नाटामा हुन्छ । आफ्ना प्रियजनको अन्तिम बिदाइमा मानिसहरू भावविह्वल हुन्छन् । सोमबारको परिदृश्य अरू बढी कारूणिक देखियो । गीतकार तथा सर्जक भाइसन बर्देवाको अन्तिम बिदाइमा हजारौँका आँखा रसाए । उनको अन्तिम बिदाइमा बुढीगंगा मुक्तिघाटमा कोशी प्रदेशका गीतकार, संगीतकार, गायक-गायिका, साहित्यकार, लेखक, विश्लेषक, प्राध्यापक र विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले भाइसनले गीत-संगीत, साहित्य, सामाजिक र व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे । भाइसनप्रति श्रद्धाञ्जली व्यक्त गर्न छिमेकी मुलुक भारतको दार्जीलिङ र सिक्किमबाट समेत स्रष्टाहरू इटहरी आएका थिए । भाइसन केही वर्षदेखि मुटुरोग र  फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । २०२७ सालमा जन्मिएका उनको असोज ९ गते दिल्लीमा उपचारको क्रममा निधन भयो । उनले ५६ वर्षको अल्पायुमै उनी यो संसारबाट भौतिक रूपमा सदाका लागि बिदा भए । 

भाइसनको अन्तिम बिदाइ इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालले पार्थिव शरीरमा झन्डा ओढाएर गर्‍यो । इटहरीका मेयर हेमकर्ण पौडेल र उपमेयर संगीता चौधरीले प्रतिष्ठानको झन्डा ओढाएर दिवंगत भाइसन बर्देवाप्रति सम्मान व्यक्त गरे । संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी भाइसनले इटहरीलाई सिर्जनासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्छन् । ‘ऊ (भाइसन) र म दुवैको बाल्यकालदेखिका साथी हौँ, उसको र मेरो भेट कहिले भयो, थाहा छैन । हामी होस सम्हालेदेखिका साथी हौँ । हामी सँगै खेल्ने, सँगै पढ्ने साथी बनेका हौँ,’ राजु विगततर्फ फर्किँन्छन्, ‘भाइसन यस्तो व्यक्ति थियो, कोही संगीत, साहित्य, कलाकारितामा लाग्न चाहे आर्थिक रूपमा पनि सहयोग गर्थ्यो । इटहरीको कलाकार र सर्जकलाई बचाउनुपर्छ भन्ने सोच्थ्यो ।‘
भाइसन बर्देवा
आम मानिसले भाइसनलाई एक व्यवसायीका रूपमा मात्र चिनेका हुन सक्छन् । ‘तर उसभित्र एउटा गीतकार र गहिरो सिर्जनशील मन थियो,’ राजु अगाडि भन्छन्, ‘आफ्ना पारिवारिक र व्यावहारिक व्यस्तताका कारण उसले गीतकारका रूपमा आफूलाई धेरै अगाडि ल्याउन पाएन । ऊ व्यवसायीको रूपमा जति चिनियो, गीतकार र साहित्यकारका रूपमा अझै राम्ररी चिनाउन हामी चुक्यौँ कि भन्ने लाग्छ,’ उनी भन्छन् । भाइसन इटहरीको मुख्य चोकमा ‘एन्जल टेलर्स’ सञ्चालन गर्थे । उनले डिजाइन गरेका कपडाहरू ग्राहकले खुबै रुचाउँथे । उनी गीत लेखनमा औधी रूचि राख्थे, साहित्यका अरू विधामा पनि कलम चलाउँथे । 

दुई दशकअघि आफ्नो शब्द र संगीतमा देशका लोकप्रिय गायक-गायिकाहरूको स्वरमा एकल सांगीतिक एल्बम निकालेका थिए ‘मनका कुरा’ । जसमा रामकृष्ण ढकाल, कर्णदास, जगदीश समाल, सुरेश कुमार, सपनाश्री, ईश्वर अमात्य, थुप्देन भुटिया, धीरज राई र स्वरूपराज आचार्यले स्वर दिएका थिए । त्यस एल्बममा समावेशमध्ये रामकृष्ण ढकालले गाएको ‘मनले चाहेँ मनमा राखेँ’, कर्णदासले गाएको ‘झरी जाने शीतझैं’, लोकप्रिय बनेका थिए । कर्णदासले गाएको 'झरी जाने शीतझैँ' गीत गाएर भाइसनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

उनले निर्माण गरेको इटहरीको परिचय दिने ‘इटहरी हो इटहरी’ गीतले उनलाई अलग पहिचान दिएको थियो । इटहरीको सामाजिक, सांस्कृतिक र सांगीतिक पहिचानलाई नजिकबाट नियालेका उनले गीतमार्फत स्थानीय भूगोल र समाजलाई अभिव्यक्त गरेका थिए । यस्तै उनले लेखेको ‘मेरो धरान’ गीतले धरानको कथा भन्छ । 

‘भाइसन दाइले मलाई धेरै कुरामा सपोर्ट गर्नु हुन्थ्यो । उहाँसँग सांगीतिक सहकार्य गर्ने कुरा चलिरहेको थियो । तर अनायासै यस्तो खबर सुन्दा स्तब्ध बनें,’ गायक विक्रम धमला भन्छन्, ‘उहाँको निधनले मैले मात्रै होइन, पूरै इटहरीले शून्यता महसुस गरेको छ ।‘ तर जीवित रहँदासम्म भाइसनको योगदानको खासै कदर नगरिएकोमा उनी दु:खी सुनिए । ‘संगीत साधना प्रतिष्ठानले झन्डा ओढाएर सम्मान गर्‍यो । यो उहाँको सम्मानका लागि सही हो जस्तो लाग्छ । तर स्रष्टालाई जीवित रहँदा नै उसको योगदानको कदर गर्ने र सोधीखोजी गर्ने बानी हामीले बसालौँ भन्ने सानो आग्रह पनि छ,’ धमला भन्छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट