Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बाढीको जोखिम बीच रेणु दाहालले सम्झिन्-" गौरवको नारायणी तटबन्धन परियोजना"

बाढीको जोखिम बीच रेणु दाहालले सम्झिन्-" गौरवको नारायणी तटबन्धन परियोजना"

चितवन :  देशका विभिन्न भागमा अत्यधिक वर्षासँगै बाढी र पहिरोले जनजीवन प्रभावित भइरहेका बेला भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्धन परियोजनासँग जोडिएका विगतका प्रयास र संघर्ष स्मरण गरेकी छन्।जस कारण धेरै प्रभावित क्षेत्रहरू आज सुरक्षित महसुस गरेका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै दाहालले आफ्नो कार्यकालको सुरुवातदेखि नै बाढीका बेला नदी तटीय क्षेत्रका नागरिकको सुरक्षा, विपद् व्यवस्थापन, रोकथाम तथा उद्धारमा खटिनुपरेका दिनहरू स्मरण गरेकी हुन्।
उनले पश्चिम चितवन, विशेषगरी भरतपुर क्षेत्र नारायणी र राप्तीजस्ता ठूला नदीबाट घेरिएको उल्लेख गर्दै यी नदी उचित व्यवस्थापन हुँदा वरदान र व्यवस्थापन कमजोर हुँदा जोखिमको कारण बन्न सक्ने बताएकी छन्।
दाहालका अनुसार नारायणी नदीको दीर्घकालीन नियन्त्रणका लागि नदी नियन्त्रण कार्यालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग समन्वय गर्दै गुरुयोजना तयार गरिएको थियो। नारायणगढदेखि गोलाघाटसम्म करिब ३५ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणका लागि झन्डै ५ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरी पाँचवटा प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको उनले पोस्टमा उल्लेख गरेकी छन्।
परियोजना कार्यान्वयनका क्रममा सरकार परिवर्तन, भुक्तानी समस्या तथा विभिन्न प्रशासनिक अवरोध सामना गर्नुपरेको उल्लेख गर्दै उनले महानगरका तर्फबाट निरन्तर समन्वय र पहल गरिएको दाबी गरेकी छन्।
‘भरतपुरको नेतृत्व गर्दा सबैभन्दा गौरव लागेको योजना कुन हो भनेर सोध्दा दर्जनौँ योजनामध्ये मेरो उत्तर सधैँ एउटै हुन्छ—नारायणी तटबन्धन।’
दाहालले तटबन्धलाई एउटा भौतिक आयोजना मात्र नभई हजारौँ नागरिकको सुरक्षा, भविष्य र भरोसासँग जोडिएको परियोजनाका रूपमा वर्णन गरेकी छन्।
उनका अनुसार भरतपुर–१६ र १७ को सीमाना, गोब्रेनी तथा सेतीदेवी वन क्षेत्रलगायत केही स्थानमा अझै निर्माण कार्य जारी छ। बाँकी काम छिट्टै सम्पन्न भई आगामी वर्षको वर्षायामअघि नदी तटीय क्षेत्रका नागरिकले थप सुरक्षित महसुस गर्न सक्ने अवस्था बन्ने अपेक्षा उनले व्यक्त गरेकी छन्।
दाहालले भरतपुरमा अघि बढेका विभिन्न ठूला परियोजनाले महानगरको विकासमा योगदान पुर्‍याएको उल्लेख गर्दै विकासलाई निरन्तर प्रक्रिया बताएकी छन्। उनले राजनीतिकर्मी तथा भरतपुरवासीका रूपमा चितवनप्रतिको आफ्नो समर्पण निरन्तर रहने पनि पोस्टमा उल्लेख गरेकी छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट