ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान शुरु भएको छ। मौसम खराबीलगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले आजदेखि नियमित उडान शुरु गरेको हो । काठमाडौँबाट १३ यात्रु लिएर सुकेटार आएको जहाजले पाँच यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिए।
यसअघि साताको सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएकामा नयाँ तालिकाअनुसार यही असोज १५ गतेदेखि साताको सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ। काठमाडौँ–ताप्लेजुङ हवाई भाडा दर १२ हजार २७० तथा ताप्लेजुङ–काठमाडौँ भाडा दर १२ हजार ७० रुपैयाँ कायम गरिएको छ ।
पर्यटकीय गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विभिन्न समस्या देखिँदै आएको छ। जहाजअभाव, इन्डिकेसनलगायत प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ।
नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्लामा आउने पर्यटकलाई समस्या हुने गरेको छ। पाथीभरा, कञ्चनजंघालगायत पर्यटकीय क्षेत्रमा आउने पर्यटक तथा सर्वसाधारण नियमित उडान नहुँदा सहज यात्राबाट वञ्चित छन्। नियमित उडानका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीय बताउँछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij