Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

लमजुङ :  मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन्।

बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। नदीमा पानीको सतह र बहाव बढेर जोखिमको अवस्था आएपछि आयोजना आइतबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिएको थियो।

आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो । नदीको बहाव सामान्य बन्दै गएपछि आज दिउँसोदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको उनले जानकारी दिए। उनका अनुसार अहिले नदीमा तत्काल कुनै जोखिमको अवस्था छैन। प्रमुख भट्टराईले ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनामा ३५-३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहेका बताए।

यसैगरी, मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि आज बिहान ११ः५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि आज बिहान ११ः५० बजेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा सुरु गरिएको हो।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत् उत्पादन रोकेका थिए। नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी दुवै आयोजना पुनः सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij