विराटनगर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विराटनगरको सीमावर्ती क्षेत्रमा एक नेपाली युवकलाई दशगजामै कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका–२ का २८ वर्षीय अनुज कामतलाई शनिबार सीमावर्ती क्षेत्र दरैयामा एसएसबीको टोलीले कुटपिट गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गर्दा एसएसबीका जवानसँग विवाद भएपछि कामतले ढुंगा प्रहार गरेको बताइएको छ । उनले प्रहार गरेको ढुंगा एसएसबीका जवानलाई लागेपछि उनी नेपालतर्फ भागेका थिए ।
दशगजामा एसएसबीलाई ढुंगा हानेर नेपालतर्फ आएका कामतलाई एसएसबीका जवानले तानेर पुनः दशगजातर्फ लगेपछि लाठीले कुटपिट गरेको बताइएको छ । घटनाका बेला सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत घटनास्थलमै रहेको जनाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा नेपाली सुरक्षा टोलीले सुरुमा कामतलाई रोक्न खोजेको देखिन्छ । त्यसपछि एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएर कुटपिट गर्दै भारततर्फ लगेको देखिन्छ । घटनास्थलमा भेला भएका केही व्यक्तिले कामतलाई भाग्नबाट रोक्न सहयोग गरेकोसमेत भिडियोमा देखिन्छ ।
एसएसबीले केही समय नियन्त्रणमा लिएर कुटपिट गरेपछि कामतलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।
इलाका प्रहरी कार्यालय रानीले कामतलाई एक दिन नियन्त्रणमा राखेर आइतबार आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कामतलाई श्रीमतीको रोहबरमा घर पठाइएको हो । प्रहरीका अनुसार कामत लागुऔषध प्रयोगकर्ता हुन् । एसएसबीसँग विवाद हुँदा पनि उनी सामान्य अवस्थामा नरहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij