काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले मधेसको विकास र समृद्धिको अभियान सुरु गरेको भन्दै सरकारको प्रशंसा गरेका छन्। प्रतिनिधिसभाको बैठकमा कर्णले मधेसमा भइरहेका पूर्वाधार निर्माण र नीतिगत पहलहरूको चर्चा गरेका छन् ।सांसद कर्णले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको कमला–कञ्चनपुर सडक खण्ड निर्माणले अहिले गति लिएको र अब उक्त सडक निर्माणको अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘प्रधानमन्त्री बालेन साहको नेतृत्वमा मधेसमा समृद्धिको राजनीति सुरु भएको छ। शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सरकारले आमूल परिवर्तनको सुरुवात गरेको छ।’
उनले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक आजै संसद्मा पेस हुन लागेकोमा खुसी व्यक्त गर्दै सरकारले मेडिकल र इन्जिनियरिङ कलेज सञ्चालनको तयारी गर्नु सराहनीय भएको बताए । साथै, जनकपुरमा राम जानकी रङ्गशाला निर्माणका लागि बजेट सुनिश्चित गरेकोमा उनले सरकारलाई धन्यवाद दिए।विकासको उत्साहसँगै मधेसले अहिले प्राकृतिक विपद् र वन्यजन्तुको आक्रमणको सामना गरिरहेको पनि सांसद कर्णले सदनलाई जानकारी गराए। तीन दिनदेखिको अविरल वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढीले ठुलो क्षति पुर्याएको उनले बताए।‘५०० भन्दा बढी घर डुबानमा परेका छन्, नागरिकहरू निकै पीडामा छन्,’ सांसद कर्णले भने, ‘यता प्राकृतिक विपत्ति त छँदैछ, अर्कोतिर सप्तकोशी नगरपालिकाको कमलपुर र कञ्चनरूप नगरपालिकाको बस्तीपुरमा हात्तीको आतङ्कले किसानको बालीनाली नष्ट भएको छ।’
सांसद कर्णले पीडित किसान र बाढी प्रभावित नागरिकका लागि सरकारसँग माग गरे। उनले भने, ‘सरकारले तत्काल प्रभावित क्षेत्रमा राहतको व्यवस्था गरोस्। हात्ती आतङ्कबाट बाली गुमाएका किसानहरूलाई उचित क्षतिपूर्ति र बाढीबाट घरबारविहीन भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij