Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सालको काठसहित एक जना पक्राउ

सालको काठसहित एक जना पक्राउ

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका-७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्। 

आइतबार राति करिब ९ बजे चन्द्रपुर सब-डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वनबाट खटिएको संयुक्त वन गस्ती टोलीले नयाँबस्ती कटानीदेखि उत्तरतर्फको वन क्षेत्रमा अनुगमन गर्ने क्रममा काठ ओसारपसार गरिरहेको अवस्थामा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

Tata
Futuressoft
RATOPATI PATRO
वन गस्ती टोलीले घटनास्थलबाट २४.७० क्युबिक फिट परिमाणको ५ थान सालको गोलिया काठ, तीन वटा साइकल र एउटा आरा बरामद गरेको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका-७ नयाँबस्ती कटानीका स्थानीय बासिन्दा रहेको वन कार्यालयले जनाएको छ।

अनुसन्धानको प्रक्रियामा रहेकाले उनको नाम भने खुलाइएको छैन। नियन्त्रणमा लिइएका व्यक्ति, जफत गरिएको काठ तथा अन्य सामग्रीलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ। वन क्षेत्रमा हुने अवैध कटान तथा काठ चोरी-तस्करी नियन्त्रण गर्न वन कार्यालयले रातिको समयमा पनि नियमित तथा आकस्मिक गस्ती गर्दै आएको छ। यस काठ नियन्त्रण अभियानमा डिभिजन वन कार्यालय रौतहट, चन्द्रपुर सब-डिभिजन वन कार्यालय, रङ्गपुर साझेदारी वन, सशस्त्र प्रहरी बेस सन्तपुर, प्रहरी चौकी बनबहुअरी र प्रहरी चौकी सन्तपुरका कर्मचारीहरूले सहयोग गरेका थिए।

वन कार्यालयले वन संरक्षण तथा अवैध काठ कटान र ओसारपसार नियन्त्रणका लागि आगामी दिनमा पनि गस्ती र निगरानीलाई निरन्तरता दिने बताएको छ। 

अपराध

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij