Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वर्षा रोकिएसँगै अवरुद्ध राजमार्ग खुलाउने काम तीव्र

वर्षा रोकिएसँगै अवरुद्ध राजमार्ग खुलाउने काम तीव्र

काठमाडौँ :  वर्षा कम भएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडक सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। पृथ्वी राजमार्गसहितका सडक आज दिउँसोसम्म खुलाएर सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।

बुधबारदेखि परेको लगातार वर्षाका कारण काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका थिए। आइतबार वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा ल्याएर पोखरातर्फ जाने सवारी साधन चलाइएको थियो। मुग्लिन–काठमाडौं सडकखण्डका विभिन्न स्थानमा पनि पहिरो हटाइएको छ। केही ठाउँमा भने एकतर्फी यातायात मात्र सञ्चालनमा छ।

आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक पुनः दुवैतर्फ अवरुद्ध भएको छ। उक्त पहिरो हटाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि यातायात प्रभावित भएको छ।

ती सडकमा पहिरो हटाउने तथा आवश्यक स्थानमा डाइभर्सन निर्माण गरेर सवारी आवागमन सञ्चालन गर्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij