Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले वर्षाले जोखिम बढाएका कारण सतर्कता अपनाउन आग्रह गरेका छन्।आज सामाजिक सञ्जालमार्फत उनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले उल्लेख गरे।

असोज ८ गतेदेखिको चट्याङ, बाढी, पहिरो, हावाहुरी र वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेतलगायत जिल्लामा गरी २१ जनाले ज्यान गुमाएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्ने र यात्रा गर्ने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।  अत्यावश्यक कामबाहेक यात्रा नगर्न र कुनै पनि सङ्कट पर्दा शुल्क नलाग्ने नम्बर १२३४ मा फोन गर्न पनि उनको भनाइ छ।

प्रधानमन्त्री शाहले यस्तो विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखेको स्पष्ट पारेका छन्। पीडितलाई थप पीडा कसैले दन नहुने, सङ्कटका बेला फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य रहेको उनको भनाइ छ।

उनले भनेका छन्‚ “भारी वर्षा तथा हावाहुरी आउनसक्ने पूर्वानुमानसार सरकार पनि तत्कालै गम्भीरताका साथ सम्भावित विपद् व्यवस्थापनको तयारीमा सक्रिय बनेको थियो, रात्रिकालीन यातायात र स्कुल बन्द गराउनेलगायत सावधानीका निर्णय गराइएको थियो। ७७ वटा जिल्ला कमान्ड पोष्टलाई सक्रिय बनाइएको थियो।”

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका घटना भइरहेका छन्, जसबाट प्रभावित क्षेत्रको जनजीवनमा ठूलो असर परेको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिबाट उठ्न खोज्दै गर्दा अर्को विपद् सामना गर्नुपरेको उनले उल्लेख गरेका छन्।

दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायत पूर्वाधारमा क्षति पुगेको छ। यस्तो सङ्कटको घडीमा प्रत्येक नागरिकको जीवनरक्षा गर्दै सुरक्षित महसुस गराउनु नै सरकारको पहिलो कर्तव्य हो।

बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएको उनले बताएका छन्।

तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह बढेकाले विशेष सजगता अपनाइएको छ भने कुलेखानी क्षेत्रमा यातायात रोकिएको छ। यसका साथै, हुरीसहितको वर्षाले किसानको धानबाली तथा तरकारीलगायत अन्य बालीमा ठूलो क्षति पुर्‍याएको प्रधानमन्त्री शाहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij