Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नारायणी नदीमा हालसम्मकै उच्च जलसतह, ११.९४ मिटर पुग्यो

नारायणी नदीमा हालसम्मकै उच्च जलसतह, ११.९४ मिटर पुग्यो

चितवन : नारायणी नदीमा हालसम्मकै उच्च जलसतह मापन भएको छ। देवघाटस्थित जलमापन केन्द्रमा आइतबार दिउँसो नदीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो। देवघाटमा ७ दशमलव ३० मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ।

पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे जलसतह घटेर ११ दशमलव ७५ मिटरमा पुगेको छ। नदीको सतह घट्दो क्रममा रहे पनि यो अझै खतराको तहभन्दा निकै माथि छ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार देवघाटमा जलमापन सुरु भएयताकै उच्च जलसतह आज मापन भएको हो। पहाडी क्षेत्रमा वर्षा जारी रहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उहाँले बताउनुभयो।

कार्यालयका अभिलेखअनुसार यसअघि २०८१ असोज १२ गते ११ दशमलव ६ मिटर नारायणीमा उच्चतम जलसतह मापन भएको थियो। त्यस्तै, २०७८ असार २ गते १० दशमलव ५० मिटर, २०७९ असोज २० गते ९ दशमलव ५२ मिटर र २०८० साउन २९ गते ८ दशमलव ३३ मिटर जलसतह मापन भएको अभिलेख छ।

देवघाटमा सन् १९६३ देखि नारायणी नदीको जलमापन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij