Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भरतपुर अस्पतालमा नर्सिङ पढ्न यस्तो छ भर्ना प्रक्रिया

भरतपुर अस्पतालमा नर्सिङ पढ्न यस्तो छ भर्ना प्रक्रिया

चितवन : भरतपुर अस्पतालमा नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीले अस्पतालमा सिधै भर्ना हुन नपाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालन हुने कार्यक्रममार्फत प्रवेश परीक्षा र काउन्सिलिङको प्रक्रियाबाट भरतपुर अस्पताल नर्सिङ क्याम्पसमा अध्ययन गर्न सकिनेछ ।

भरतपुर अस्पताल नर्सिङ क्याम्पसकी कोअर्डिनेटर शान्ता भण्डारीका अनुसार नर्सिङ तथा मिडवाइफ्री अध्ययन गर्न चाहने विद्यार्थीले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी न्याम्सको सरकारी कार्यक्रम छनोट गर्नुपर्नेछ । त्यसपछि हुने काउन्सिलिङमा भरतपुर अस्पताल नर्सिङ क्याम्पस रोजेर अध्ययन गर्न सकिनेछ ।

हाल क्याम्पसमा बीएस्सी नर्सिङ र ब्याचलर इन मिडवाइफ्री साइन्स (बीएमएस) कार्यक्रम सञ्चालनमा छन् । यसअघि सीटीईभीटीअन्तर्गत पीसीएल नर्सिङ सञ्चालन हुँदै आएकोमा २०७२ सालदेखि न्याम्सअन्तर्गत बीएस्सी नर्सिङ कार्यक्रम सुरु भएको हो ।

क्याम्पसले सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक तथा क्लिनिकल अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । ६ सय शैयाको भरतपुर अस्पतालमा ९० प्रतिशतभन्दा बढी शैया उपयोग हुने भएकाले विद्यार्थीले विभिन्न रोग तथा स्वास्थ्य अवस्थाका बिरामीसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउने क्याम्पसको भनाइ छ ।

विशेष सेवासम्बन्धी अनुभवका लागि विद्यार्थीलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र वीर अस्पतालमा समेत क्लिनिकल एक्सपोजर गराउने गरिएको छ ।

क्याम्पसमा न्याम्सबाट स्वीकृत दरबन्दीअनुसार १५ जना नर्सिङ शिक्षक कार्यरत छन् । मिडवाइफ्री, माइक्रोबायोलोजी, फन्डामेन्टल अफ नर्सिङ र एनाटोमीका सिमुलेसन ल्याब सञ्चालनमा छन् । विद्यार्थीका लागि पुस्तकालयको समेत व्यवस्था गरिएको छ, जुन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुन्छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगाले अस्पतालमा विशेषज्ञ सेवा, उच्च बिरामी चाप, आवश्यक पूर्वाधार र दक्ष शिक्षक उपलब्ध रहेकाले नर्सिङ अध्ययनका लागि सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्ने पर्याप्त अवसर रहेको बताउनुभयो ।

संघीय सरकारअन्तर्गतको भरतपुर अस्पतालमा दैनिक करिब तीन हजार बिरामीले बहिरंग सेवा लिने गरेका छन् । चितवनसहित करिब २५ जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले विद्यार्थीले विविध स्वास्थ्य अवस्थाका बिरामीसँग प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउने अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij