Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता


रसुवा : भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका छन्। सयौँको सङ्ख्यामा अभिभावक गुमाएपछि धेरै बालबालिका विचल्लीमा परेका छन्। बाढीपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन्।

गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कूलका १० जना र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ जना विद्यार्थी बेपत्ता भएका छन्। बाढीकै कारण २०१ जना अभिभावकसमेत बेपत्ता छन्। प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६ जना, हाइल्याण्ड आवासीय माविका ४२ जना, नमूना एभरग्रिनका ४१ जना, मोडर्न ट्रिनिटीका ३३ जना, ग्रीनगार्डनका २५ जना, नर्थपोलका नौ जना र हिमालयनका पाँच जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन्।

आफ्ना आमाबुबा तथा अभिभावक गुमाएपछि ती स्कुले बालबालिकाको पठनपाठन अन्योलमा परेको छ। आश्रय र संरक्षणको अभावमा सयौँ बालबालिका हाल गम्भीर मानसिक तथा भौतिक सङ्कट व्यहोर्नु परेको छ। बाढीले विभिन्न भौतिक संरचनासहित शैक्षिक संस्थामा पनि क्षति पुगेको छ। बाढीकै कारण मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका बेपत्ता भएको छ।

प्याब्सन रसुवाका अध्यक्ष लामा भन्छन्, 'विद्यालय छात्रावासमा रहेका अभिभावक विहीन विद्यार्थीको खानपान तथा विद्यालय तत्काल सञ्चालनमा ल्याइ आवश्यक खाद्यान्नसहितका सामग्री उपलब्ध गराइएको छ।'

जिल्लाका संस्थागत सात विद्यालयमध्ये पाँच वटा विद्यालय पुनः सञ्चालनमा आइसकेका छन्। ठूलो क्षति ब्यहोर्न परेका दुई विद्यालय पनि केही समयमै सञ्चालनमा ल्याउने आवश्यक तयारी भइरहेको जनाइएको छ।

प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले थप सहयोगका सबैसँग अपिल गरेको छ। केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढीप्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन विभिन्न पहल र कोसिस भइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij