विराटनगर : नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगरमा दुई पक्षबीच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनमा शुक्रबार दिउँसो मतदान भइरहेका बेला दुई पक्षबीच विवाद भएपछि कुटाकुट भएको हो । कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका अनुसार भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान चलिरहेका बेला दुई पक्षबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।
दुई पक्षबीचको विवाद र कुटाकुटबाट केही समय अधिवेशन प्रभावित भएको थियो । तर, पछि मतदान प्रक्रियालाई पुनः निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।
वडाको नयाँ नेतृत्वका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो । वडा नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
यसअघि कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनै लाग्दा विवाद चर्किएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरेपछि विवाद चर्किएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij