काठमाडौं : २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको छ।
टोकाया सिटिजेन जिम्नाजियममा शुक्रबार भएको खेलमा सुरुवाती पाँच मिनेटसम्म नेपालले भारतलाई चुनौती दिए पनि त्यसपछि भारतीय टोली खेलमा हाबी भयो। पहिलो हाफमा नेपाल दुईपटक अलआउट हुँदा भारतले ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपालले खेलमा फर्कने प्रयास गरे पनि भारतको बलियो आक्रमण र डिफेन्सका अगाडि प्रभाव जमाउन सकेन। दोस्रो हाफमा नेपालले ७ अंक जोड्दा भारतले १७ अंक थप्यो। यससँगै भारतले सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। नेपाल भने सेमिफाइनलमा पराजित भए पनि यसअघि नै काँस्य पदक सुरक्षित गरिसकेको थियो। समूह ‘बी’ मा रहेको नेपालले थाइल्याण्डलाई ४६–४३ र श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर, भारतसँगको हारसँगै नेपाली महिला कबड्डी टोलीको पहिलोपटक एसियाली खेलकुदको फाइनल पुग्ने लक्ष्य अधुरै रह्यो।