Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कुलेखानी जलाशय भरिन ७ मिटर बाँकी, चौबिसै घण्टा विद्युत् उत्पादन

कुलेखानी जलाशय भरिन ७ मिटर बाँकी, चौबिसै घण्टा विद्युत् उत्पादन


मकवानपुर : मुलुकको एकमात्र ‘ब्याकअप’ ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ । पूर्ण क्षमतामा जलाशय भरिन अब जम्मा ७ मिटरमात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रह्लाद राउतका अनुसार बिहान ६ बजे कुलेखानी जलाशयमा १ हजार ५२२.३१ मिटर पानी मापन गरिएको थियो भने ३ घण्टापछि (बिहान ९ः३०मा) पानीको सतह बढेर १ हजार ५२२.६० मिटर पुगेको छ ।

पछिल्लो समय जलाशयको जलाधार क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण पानीको सतह बढ्दै गएको राउतले बताए ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्यहाँका विद्युत् आयोजनाहरूमा क्षति पुगेपछि भदौको दोस्रो सातादेखि नै कुलेखानी जलविद्युत् आयोजना पूर्ण क्षमता (फुल लोड) मा सञ्चालन हुँदै आएको राउतको भनाइ छ ।

भोटेकोशी बाढीको असरले राष्ट्रिय ग्रिडमा सिर्जना भएको ऊर्जाको माग धान्न कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन गर्नुपरिरहेको राउतले बताए ।

आयोजनाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण दैनिक १५ देखि २० सेन्टिमिटरसम्म पानी प्राकृतिक रूपमा जलाशयमा थपिने गरेको उनको भनाइ छ । तर, तीन वटै युनिटबाट २४ सै घण्टा फुल फेजमा विद्युत् उत्पादन गरिरहँदा दैनिक २५ देखि ३० सेन्टिमिटरसम्म पानी खपत भइरहेकाले हाल सन्तुलित अवस्थामा रहेको उनले बताए ।

कुलेखानी जलाशयमा ७ वटा जलाधार क्षेत्रबाट पानी सङ्कलन हुने गरेको उनले जानकारी दिए ।

असोज ८ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्नुको साथै उच्च सतर्कता अपनाइएको आयोजना प्रमुख राउतले बताए । २०८१ साल असोज १२ गते बिहान कुलेखानी जलाशय भरिएर एक्कासि बाँधको ढोका खोल्दा सिमखोलाको पुल, सिस्नेरीको सडक तथा ४९ वटा घर बगाएको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै जलाशयमा पानी सञ्चिति सामान्य अवस्थामा राख्न प्रयत्न भइरहेको उनले बताए ।

कुलेखानीको जोखिमलाई मध्यनजर गर्दै यसपटक सुरक्षा र पूर्वतयारीलाई विशेष प्राथमिकता दिइएको आयोजना प्रमुख राउतले रातोपाटीलाई बताए । विगतको जस्तो मानवीय तथा भौतिक क्षति दोहोरिन नदिन यस पटक पानीको सतह र निकासलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजना पक्ष प्रयासरत रहेको प्रमुख राउतको भनाइ छ ।

सुरक्षाका लागि तीन तहको साइरन बजाइने

जलाशयको पानीको सतह बढेर स्पिलवे गेट (मुख्य ढोका) खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वजानकारी दिन तीन तहको साइरन प्रणालीको व्यवस्था गरिएको छ । राउतका अनुसार कुलेखानी जलाशयले सतर्कता तह पार गर्ने अवस्थामा तीन चरणमा साइरना बजाइने छ ।

साइरनको सङ्केत बुझेर सतर्कता अपनाउन स्थानीय बासिन्दालाई अनुरोध गरेको उनले बताए । पहिलो सङ्केतका रूपमा एक मिनेट लगातार लामो साइरन बजाइने छ, जसले जलाशयमा पानी भरिन लागेको सङ्केत दिने र सो अवस्थामा नदी तथा खोला किनारमा जान पूर्ण रुपमा रोक लगाइएको छ ।

दोस्रो सङ्केत दुई मिनेट लगातार दुई पटक साइरन बजाइने छ । जसले जलाशयको पानीको सतह उच्चतम बिन्दुमा पुगेको सङ्केत गर्ने र सो अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवतीलाई सुरक्षित स्थानमा सार्न र पशुचौपाया समेत सुरक्षित राख्न आग्रह गरिएको छ भने देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा समेत सावधानीपूर्वक हिँड्न भनिएको छ ।

तेस्रो सङ्केत छोटो–छोटो अन्तरालमा लगातार तीन पटक साइरन बजाइने छ, जसले आपत्कालीन चेतावनी दिने र ड्यामका मुख्य ढोकाहरु खोलिएको र नदीमा बाढीको सतह अत्यधिक बढ्ने भएकाले तत्काल खोला किनार छाडेर अग्लो तथा सुरक्षित स्थानमा जान र उक्त सडकखण्डमा आवतजावत पूर्ण रुपमा बन्द गर्न आग्रह गरिएको छ ।

कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुग्ने बित्तिकै पहिलो चरणको साइरन बज्ने व्यवस्था मिलाइएको उनले बताए । हाल आयोजनाको समग्र अवस्था सन्तोषजनक रहे पनि मनसुनको अवधिमा ड्याम पूर्ण क्षमतामा भरिन सक्ने सम्भावना उच्च रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij