Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा गजेन्द्र अधिकारी चयन

चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा गजेन्द्र अधिकारी चयन

चितवन :  चितवन उद्योग संघको विधान २०७८ को दफा १९, उपदफा १९.३ को खण्ड (४) बमोजिम संघको सदस्य उद्योग ‘रत्ननगर प्याकेजिङ उद्योग’का सञ्चालक, रत्ननगर–२, चितवन निवासी वर्तमान उपाध्यक्ष गजेन्द्र अधिकारी संघको १८औँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएको हो।

उद्योग क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै चितवनको औद्योगिक विकास, उद्योगी–व्यवसायीका समस्या समाधान तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले चितवनमा उद्योग सञ्चालनका क्रममा उद्योगीहरूले भोग्दै आएका नीतिगत, पूर्वाधार, विद्युत्, कर, बैंकिङ, बजार व्यवस्थापन तथा प्रशासनिक समस्याको पहिचान गरी सम्बन्धित सरकारी निकायसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो।

उद्योगीका साझा समस्या समाधानका लागि निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ। साथै, चितवनमा नयाँ उद्योग स्थापना गर्न आवश्यक वातावरण निर्माण गरी स्थानीय तथा बाह्य लगानी आकर्षित गर्ने, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तारमा सहजीकरण गर्ने तथा साना तथा मझौला उद्योगलाई प्रविधि, वित्तीय पहुँच र बजारसँग जोड्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो।

वरिष्ठ उपाध्यक्षमा चयन भएका अधिकारीलाई संघका अध्यक्ष मदन घिमिरे, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्षहरू राजु पौडेल, भीमबहादुर पाण्डे, हरिप्रसाद सुवेदी, ताराप्रसाद पौडेल, गुणाकर खरेल, कानुनी सल्लाहकार फूलमाया रानाभाट, संघका पदाधिकारी तथा सदस्यहरू, महिला तथा युवा उद्यमी मञ्चका पदाधिकारी तथा सदस्यहरू एवम् सचिवालयका कर्मचारीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट