Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाए

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाए

 

काठमाडौँ : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। झापा, सुनसरी, रौतहट र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।

झापाको अर्जुनधारा नगरपालिका-६ स्थित सडकमा शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ६५२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय साइला माझीको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको इनरूवा नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-०५२ प ५१९९ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने भारत घर भएका ५० वर्षीय डिके खानको मृत्यु भएको छ। बुधबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल इनरूवामा उपचार भइरहेको छ।

रौतहटको गुजरा नगरपालिका-३ स्थित सडकमा मधेश प्र.०३-००१ ज ०५९५ नम्बरको इभी गाडी र बा.८५ प ४६२५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक फतुवा बिजयापुर नगरपालिका-५ सन्तपुर बस्ने २० वर्षीय सन्देश यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल हस्पिटल चन्द्रनिगाहापुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको साउथ सिटी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ भने इभी गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा.प्र.०२-०६० प ८३३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ नगदेश बस्ने २२ वर्षीय अनिश छुजुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट