बुटवल : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर कार्यसमितिको सभापतिमा देवराज न्यौपाने निर्वाचित भएका छन्।
नगर कार्यसमितिको नेतृत्वका लागि भएको निर्वाचनमा न्यौपानेले १५९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी सञ्जीव शर्मा रेग्मीले १५० मत प्राप्त गरे। कुल ३१८ मत खसेको थियो।
नगर कार्यसमितिको नेतृत्वका लागि न्यौपाने र रेग्मीले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए। न्यौपाने यसअघि कांग्रेस सिद्धार्थनगरको उपसभापतिमा निर्वाचित भएका थिए। पछिल्लो समय उनले नगरको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए।
न्यौपानेको प्यानलबाट गौरव श्रेष्ठ उपसभापति, निलु श्रीस मगर महिला उपसभापति तथा धर्मवीर शर्मा र दिनेश केवट सहसचिवमा निर्वाचित भएका छन्। श्रेष्ठले १७४, मगरले १६२, शर्माले १६७ र केवटले १६५ मत प्राप्त गरे।
यस्तै, रेग्मीको प्यानलबाट उपसभापतिका उम्मेदवार अनिल केसीले १३२, महिला उपसभापतिमा लक्ष्मी अर्यालले १४६, सचिवमा पंकज उदासले १४० र सहसचिवमा राममिलन यादवले १३९ मत प्राप्त गरेका छन्।
सदस्य खुलातर्फ सिद्धार्थनगर–१ का माधव शर्मा १६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी खगनाथ गैरेले १३० मत प्राप्त गरे।
महिला सदस्यतर्फ सिद्धार्थनगर–६ की सीतादेवी थारू १६० मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी उर्मिला कुमारी शर्माले १३६ मत प्राप्त गरिन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij