Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नेपाली कांग्रेस रत्ननगर नगर समितिमा उमेश गिरीको प्यानलै विजयी

नेपाली कांग्रेस रत्ननगर नगर समितिमा उमेश गिरीको प्यानलै विजयी

रत्ननगर :  नेपाली कांग्रेस रत्ननगर नगर समितिको बहुप्रतीक्षित नेतृत्व चयन प्रक्रिया अन्तिम परिणाम घोषणासँगै सम्पन्न भएको छ। कुल ५२५ मत गणनाको अन्तिम परिणाम अनुसार सभापति पदमा उमेश गिरी आफ्नो पूरै प्यानलसहित सानदार जित दर्ता गराउन सफल हुनुभएको छ।

कडा प्रतिस्पर्धात्मक वातावरणका बीच सम्पन्न निर्वाचनमा सभापति पदका प्रत्याशी उमेश गिरीले २९५ मत प्राप्त गर्दै नगर सभापतिमा बाजी मार्नुभएको हो। उहाँका प्रतिस्पर्धी रामहरि न्यौपानेले १९४ मत प्राप्त गर्नुभयो। गिरीले न्यौपानेलाई १०१ मतको फराकिलो अन्तरले पराजित गर्दै नगर समितिको कमान्ड सम्हाल्नुहुने भएको छ।

त्यसैगरी उप-सभापति पदमा हरि लामिछानेले सर्वाधिक ३१९ मत ल्याएर जित हासिल गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नारायण महत्तोले १८३ मतमा चित्त बुझाउनुपरेको छ। महिला उप-सभापति तर्फको प्रतिस्पर्धामा सरस्वती चालिसेले २६८ मत ल्याउँदै विजय हासिल गर्नुभयो, जहाँ उहाँकी प्रतिस्पर्धी रिता अधिकारीले २२५ मत प्राप्त गर्नुभएको थियो।

सचिव पदमा भने निकै प्रतिस्पर्धात्मक भिडन्त देखिएको थियो। सचिवमा सुरेस जङ्ग पाण्डेले २५६ मत ल्याएर विजय हासिल गर्दा उहाँका निकटतम प्रतिस्पर्धी सुवर्ण घिमिरेले २४५ मत ल्याउनुभयो। पाण्डेले घिमिरेलाई ११ मतको सूक्ष्म अन्तरले पछाडि पार्नुभएको हो।

सह-सचिव पदको अन्तिम परिणाम अनुसार मिलन कुमार क्षेत्री २६९ मतका साथ विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी पुरुषोत्तम लामिछानेले २३० मत प्राप्त गर्नुभयो।

नगर समितिको मुख्य पदहरूमा उमेश गिरी नेतृत्वको पूरै प्यानल विजयी भएसँगै रत्ननगर कांग्रेसमा गिरी पक्षको वर्चस्व स्थापित भएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपश्चात् विजयी पदाधिकारीहरूलाई कार्यकर्ता तथा समर्थकहरूले बधाई ज्ञापन गर्दै भव्य स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट