काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालको योगदान आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग बुधबार भएको साइडलाइन भेटवार्तामा मन्त्री खनालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटवार्ताका क्रममा उनले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसंघले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि आभार व्यक्त गरे ।
‘नेपालले संयुक्त राष्ट्रसंघसँगको आफ्नो दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ,’ मन्त्री खनालले भने, ‘पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छौँ ।’
विश्व शान्ति र सुरक्षाका लागि शान्ति स्थापनाका क्रममा जीवन उत्सर्ग गरेका तथा घाइते भएका नेपाली शान्ति सैनिकहरूको योगदानको उच्च सम्मान गर्दै उनले उनीहरूको त्याग र समर्पणप्रति श्रद्धासमेत व्यक्त गरे ।
मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको बताए ।उनका अनुसार हाल करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा दिइरहेका छन् ।
संयुक्त राष्ट्रसंघको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परे नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तयार रहेको पनि उनले बताए ।
संयुक्त राष्ट्रसंघबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढङ्गले प्रतिक्रिया जनाउँदै आएको मन्त्री खनालले बताए । कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको उनको भनाइ थियो।
नेपाली शान्ति सैनिकले व्यावसायिकता, अनुशासन, समर्पण र कार्यदक्षतामार्फत प्रभावकारी योगदान दिँदै आएको बताउँदै उनले संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानले पछिल्लो समय सामना गरिरहेको वित्तीय तथा तरलताको चुनौतीबारे नेपाल जानकार रहेको पनि मन्त्री खनालले बताए।
‘यस्ता चुनौतीका बाबजुद नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाप्रतिको आफ्नो दृढ प्रतिबद्धतामा अडिग छ,’ उनले भने।
संयुक्त राष्ट्रसंघको अनुरोधअनुसार शान्ति अभियानमा परेको वित्तीय भार न्यूनीकरणका लागि नेपालले विभिन्न उपाय अवलम्बन गर्दै आएको उनले बताए।
उनका अनुसार अधिकारीहरूको कार्यविधि विस्तार गर्ने, व्यावसायिक उडानमार्फत शान्ति सैनिकका टोली परिचालन गर्ने, सामान तथा उपकरण ढुवानीसम्बन्धी सुविधामा आवश्यक समायोजन गर्ने तथा अन्य खर्च न्यूनीकरणका उपायमा नेपालले सहयोग गर्दै आएको छ।
भेटवार्ताका क्रममा मन्त्री खनालले शान्ति स्थापनाका क्षेत्रमा नेपालले निरन्तर पुर्याउँदै आएको योगदान, प्रतिबद्धता र सहयोगलाई आगामी परिचालनका अवसरमा समेत उचित रूपमा सम्बोधन गर्न आग्रह गरे।
‘नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा पुर्याउँदै आएको योगदान र निरन्तर सहयोगको उचित कदर हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘आगामी दिनमा नयाँ परिचालनका अवसर सिर्जना हुँदा नेपाललाई उचित रूपमा विचार गरिने विश्वास लिएका छौँ।’
भेटका क्रममा संयुक्त राष्ट्रसंघको शान्ति सञ्चालन विभागका उपमहासचिव लाक्रोइक्सले विश्व शान्ति स्थापनाका लागि नेपाल र नेपाली सुरक्षाकर्मीले पुर्याउँदै आएको भूमिकाको प्रशंसा गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij