चितवन : सपना भिलेज सोसियल इम्प्याक्टको आयोजना तथा कञ्चन नेपाल, LiBird र IRHA को सहयोगमा बीउ बैंक व्यवस्थापन तथा नीतिगत पैरवीसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीमा स्थानीय बीउको संरक्षण तथा प्रवर्द्धनका लागि बीउ बैंक स्थापना गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ र २ का वडा अध्यक्ष, वडा नं. ३ का वडा सदस्य तथा वडा नं. १ र २ का नमुना किसानहरूको सहभागिता थियो। कार्यक्रममा स्थानीय तथा परम्परागत बीउको पहिचान, संरक्षण, बीउ बैंक व्यवस्थापन तथा यसको आर्थिक र सामाजिक महत्वबारे छलफल गरिएको थियो।
कार्यक्रममा कञ्चन नेपालका कार्यक्रम संयोजक निर्मल अधिकारीले कञ्चन नेपालले सपना भिलेजसँगको समन्वयमा इच्छाकामना क्षेत्रमा पोखरी, शौचालय तथा खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो।
undefined
सामुदायिक बीउ बैंक संघ, नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले स्थानीय तथा परम्परागत बीउको संरक्षण भावी पुस्ताका लागि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय बीउबाट गुणस्तरीय तथा पौष्टिक खाद्य उत्पादन गर्न सकिने उल्लेख गर्दै बीउको संरक्षणसँगै बिक्री–वितरणलाई व्यवस्थित गर्न सके किसानको आम्दानी बढाउन सकिने बताउनुभयो।
स्थानीय बीउको पहिचान, संरक्षण र उचित व्यवस्थापनले स्थानीय कृषि प्रणालीलाई बलियो बनाउनुका साथै कृषि जैविक विविधताको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले इच्छाकामना गाउँपालिका–१ र २ मा बीउ बैंक स्थापना तथा सञ्चालनका लागि गाउँपालिका र वडा कार्यालयबाट आवश्यक सहजीकरण तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
गोष्ठीको समापनमा सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले इच्छाकामना गाउँपालिका–१ र २ लाई लक्षित गरी स्थानीय तथा परम्परागत बीउ संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने घोषणा गर्नुभयो।
गिरीले बीउ बैंकलाई स्थानीय बीउको संरक्षणमा मात्र सीमित नराखी किसानको आयआर्जन वृद्धि, खाद्य तथा पोषण सुरक्षा र कृषि जैविक विविधता संरक्षणको महत्वपूर्ण माध्यमका रूपमा विकास गरिने बताउनुभयो।