भरतपुर : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको संख्या बढ्दै गएसँगै मानव–बाघ द्वन्द्वको जोखिम पनि बढ्दै गएको छ। राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मात्रै बाघको संख्या १४५ पुगेको छ भने नेपालभर ४२९ पुगेको छ।
बाघको संख्या बढ्नु संरक्षणको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिए पनि निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बस्तीमा यसको असर देखिन थालेको छ। गत आर्थिक वर्ष मात्रै नेपालमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ भने पछिल्लो आठ वर्षमा ८५ जनाले ज्यान गुमाएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको काँखमै बस्दै आएकी भरतपुर महानगरपालिका–२३ की कल्पना बोटेको परिवारले बाघ आक्रमणको पीडा भोगिसकेको छ। २०७९ जेठ २४ गते घाँस काट्न र निउरो टिप्न जंगल छेउ पुगेकी उनकी सासुआमा उमादेवी बोटेमाथि बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो। परिवारले २० दिनभित्र १० लाख रुपैयाँ राहत पाए पनि जंगलमाथिको निर्भरता भने हट्न सकेन।
आज पनि कल्पनाको परिवार घाँस, दाउरा, निउरो तथा अन्य वन पैदावारका लागि जंगलमा निर्भर छ। जंगलसँग जोडिएको यही दैनिक जीवनले उनीहरूलाई बाघसँगको सम्भावित जम्काभेटको जोखिममा राखेको छ।
पछिल्लो समय चितवनका बस्तीमा बाघ देखिने र मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण हुने घटना पनि सार्वजनिक भएका छन्। भरतपुर महानगरपालिका–२८ मेघौलीमा ६५ वर्षीय मंगले बोटेमाथि साउन २५ गते बाघले आक्रमण गरेको थियो। खोजीका क्रममा उनको शव फेला परेको थियो। त्यसको केही दिनपछि राप्ती नगरपालिका–१ डिपाट बस्तीमा ६० वर्षीय ठाकुर अधिकारीमाथि बाघले आक्रमण गर्दा उहाँको तिघ्रामा चोट लागेको थियो।
वन्यजन्तु विज्ञ बाबुराम लामिछानेका अनुसार जंगलमा रहेका सबै बाघ मानिसका लागि जोखिमपूर्ण हुँदैनन्। बूढो, घाइते वा अशक्त भएर प्राकृतिक सिकार गर्न नसक्ने केही बाघ सजिलै सिकार गर्न सकिने घरपालुवा पशु खोज्दै बस्तीनजिक आउने र त्यसक्रममा मानिसमाथि समेत आक्रमण गर्ने गरेको उहाँ बताउनुहुन्छ।
लामिछानेका अनुसार मानव–बाघ द्वन्द्वमा संलग्न हुने बाघको संख्या कुल बाघको तुलनामा निकै कम हुन्छ। त्यसैले सबै बाघलाई जोखिमका रूपमा हेर्नुभन्दा समस्या सिर्जना गर्ने बाघ पहिचान गरी त्यसको अवस्था र व्यवहारका आधारमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ।
चितवन राष्ट्रिय निकुञ्जले बस्तीमा पसेर जोखिम सिर्जना गरेका बाघ नियन्त्रणमा लिँदै आएको छ। नियन्त्रणमा लिइएका बाघको स्वास्थ्य परीक्षण गरी स्वस्थ र सक्षम बाघलाई उपयुक्त अवस्थामा पुनः जंगलमा छाड्ने गरिएको छ भने बूढो वा अशक्त बाघलाई खोरमा राख्ने गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताउनुभएको छ।
जंगलमा दैनिक जीवन निर्भर भएका समुदाय मानव–बाघ द्वन्द्वको बढी जोखिममा रहेको वन्यजन्तु विज्ञ लामिछाने बताउनुहुन्छ। घाँस, दाउरा, काठ तथा अन्य वन स्रोत संकलन गर्ने, पशु चराउने वा माछा मार्ने क्रममा उनीहरू लामो समय जंगलमा रहने भएकाले बाघसँग जम्काभेटको सम्भावना बढी हुने उहाँको भनाइ छ।
समस्याग्रस्त बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा सातवटा खोर व्यवस्थापन गरिएको छ। तर बाघको संख्या र गतिविधि बढ्दै जाँदा ती संरचना पर्याप्त नभएको निकुञ्जले जनाएको छ। समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएपछि कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने चुनौतीसमेत देखिएको छ।
यसै चुनौतीलाई सम्बोधन गर्न समस्याग्रस्त बाघका लागि प्राकृतिक बासस्थानसहितको ‘टाइगर सेन्चुरी’ अवधारणा अघि सारिएको छ। यसको उद्देश्य समस्याग्रस्त बाघलाई व्यवस्थित रूपमा राख्दै सकेसम्म प्राकृतिक वातावरण उपलब्ध गराउनु रहेको निकुञ्जका सूचना अधिकारी थापा मगरले बताउनुभएको छ। साथै बाघको प्राकृतिक आहार प्रजातिको संरक्षण र व्यवस्थापनमा पनि जोड दिइएको उहाँको भनाइ छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा बाघको आक्रमणबाट नेपालभर १० जनाको मृत्यु भएको थियो। तीमध्ये बाँकेमा चार, पर्सामा तीन, बर्दियामा दुई र चितवनमा एक जनाको मृत्यु भएको तथ्यांक छ। पछिल्लो आठ वर्षमा बाघको आक्रमणबाट ८५ जनाले ज्यान गुमाएका छन्।
बाघ संरक्षणको सफलता र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न जंगलमा निर्भर समुदायको जोखिम घटाउने, बाघको गतिविधिको नियमित निगरानी गर्ने तथा समस्या सिर्जना गर्ने बाघको समयमै पहिचान र व्यवस्थापन गर्ने उपायलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij