Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भरतपुर अस्पतालमा दुई महिनामा १२२ सर्पदंशका बिरामी, १२ जनालाई एन्टिस्नेक भेनम

भरतपुर अस्पतालमा दुई महिनामा १२२ सर्पदंशका बिरामी, १२ जनालाई एन्टिस्नेक भेनम

चितवन : भरतपुर अस्पतालमा गत साउन र भदौ महिनामा १२२ जना सर्पदंशका बिरामीले उपचार गराएका छन् । तीमध्ये १२ जनालाई विषालु सर्पले टोकेको र उपचारका क्रममा एन्टिस्नेक भेनम प्रयोग गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दीन मियाँका अनुसार साउनमा ५६ जना र भदौमा ६६ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएका थिए । एन्टिस्नेक भेनम आवश्यक परेका बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा चितवनसँगै नवलपुर, मकवानपुर, तनहुँलगायत जिल्लाबाट पनि सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । गत वर्षभरमा अस्पतालमा ४९१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए ।

वर्षात्को समयमा सर्पदंशका घटना बढी हुने गरेको अस्पतालले जनाएको छ । विशेषगरी खेतीपाती गर्ने समयमा सर्पदंशको जोखिम बढ्ने गरेको मियाँले बताउनुभयो ।

विषालु सर्पले टोकेपछि पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन कठिन हुने, वान्ता हुने तथा बेहोस हुनेजस्ता लक्षण देखिन सक्ने उहाँले जानकारी दिनुभयो । विष नभएको सर्पले टोकेमा भने सामान्यतया टोकेको स्थानमा घाउ हुने र सुन्निने हुन्छ । त्यस्तै, रुखमा पाइने हरियो सर्पले टोकेमा रक्तस्राव र सुन्निने समस्या देखिन सक्ने उहाँले बताउनुभयो ।

सर्पले टोकेपछि बिरामीलाई दौडाउन, हिँडाउन वा अनावश्यक रूपमा चलाउन नहुने चिकित्सकको सुझाव छ । टोकेको अंगलाई स्थिर राख्दै सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने उहाँले बताउनुभयो ।

चितवन क्षेत्रमा कोब्रा, करेत र भाइपरलगायत विषालु सर्प पाइने भएकाले वर्षात्को समयमा विशेष सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij