Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसको १५औँ महाधिवेशन : आज देशभर पालिका अधिवेशन, नेतृत्वका लागि सरगर्मी तीव्र

कांग्रेसको १५औँ महाधिवेशन : आज देशभर पालिका अधिवेशन, नेतृत्वका लागि सरगर्मी तीव्र

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। वडा तहको नेतृत्व चयन प्रक्रिया सम्पन्न भएसँगै कांग्रेसले गाउँपालिका र नगरपालिका तहमा नयाँ नेतृत्व चयन गर्न लागेको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देशका अधिकांश स्थानमा वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबारसम्म अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडामा पनि नेतृत्व चयनको प्रक्रिया पूरा भएको निर्वाचन समितिले जनाएको छ। बाढीपहिरोबाट बढी प्रभावित रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै पालिका अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको छ।

कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट सभापतिसहित पाँच जना पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछन्। पालिका कार्यसमितिमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ।

कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने वैधानिक व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।

वडा तहबाट निर्वाचित प्रतिनिधिले पालिका तहको नेतृत्व चयन गर्ने भएकाले देशभरका गाउँपालिका तथा नगरपालिकामा चुनावी सरगर्मी बढेको छ। विभिन्न पालिकामा सभापति तथा पदाधिकारीका आकांक्षीहरूबीच आन्तरिक छलफल र भेटघाटसमेत तीव्र बनेको छ।

पालिका अधिवेशनमार्फत स्थानीय तहमा नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसको संगठनात्मक संरचना थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट