Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नयाँ सोच र युवा ऊर्जासहित कांग्रेस रत्ननगरको नेतृत्वमा उमेश गिरीको प्रवेश

नयाँ सोच र युवा ऊर्जासहित कांग्रेस रत्ननगरको नेतृत्वमा उमेश गिरीको प्रवेश

रत्ननगर : राजनीतिमा नेतृत्व केवल पद प्राप्तिको विषय होइन, विचारलाई व्यवहारमा उतार्ने, संगठनलाई एकताबद्ध बनाउने र जनताको विश्वासलाई जिम्मेवारीमा रूपान्तरण गर्ने अवसर पनि हो । यही मान्यतासहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रत्ननगर नगर सभापति पदमा युवा नेता उमेश गिरीले उम्मेदवारी घोषणा गरेका छन् । अग्रजको अनुभव, समकालीन राजनीतिक चेतना र युवा पुस्ताको ऊर्जालाई एकै ठाउँमा जोडेर पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्ने लक्ष्यसहित गिरी नेतृत्वको दौडमा अघि बढेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका उनले कांग्रेसको संगठनलाई सुदृढ, एकताबद्ध र प्रविधिमैत्री बनाउँदै बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

रत्ननगर–३ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित गिरी हाल नेपाली कांग्रेसका क्षेत्रीय सचिव हुन् । पार्टीको नगर सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनले क्षेत्रीय सदस्य, प्रवक्ता हुँदै क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभवलाई नगर नेतृत्वमा उपयोग गर्ने उनको तयारी छ ।
निडर स्वभाव, सरल व्यवहार र सहयोगी भावनाका गिरी पार्टीभित्र कार्यकर्तासँग सहज सम्बन्ध राख्ने युवा नेताका रूपमा परिचित छन् । अग्रजलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राख्ने उनी नेतृत्वमा पुस्तान्तरणसँगै अनुभव र नवीन सोचको समन्वय आवश्यक रहेको बताउँछन् । उनका लागि नेतृत्व परिवर्तन केवल अनुहार परिवर्तन नभई संगठनको कार्यशैली, सोच र राजनीतिक संस्कारलाई समयअनुकूल बनाउने प्रक्रिया हो ।

 

लामो समयदेखि पार्टीको सांगठनिक सुदृढीकरण, भ्रातृ संस्था परिचालन तथा वैचारिक अभियानमा सक्रिय गिरीले कांग्रेसलाई जनतासँग थप नजिक बनाउने, कार्यकर्ताको भूमिका प्रभावकारी बनाउने र संगठनभित्र एकता तथा सहकार्यको वातावरण बलियो बनाउने लक्ष्य अघि सारेका छन् । सामाजिक सेवा, उद्यमशीलता प्रवर्द्धन र स्थानीय विकासका गतिविधिमा समेत सक्रिय रहँदै आएका उनले राजनीतिक जिम्मेवारीलाई समाजप्रतिको सेवासँग जोड्दै आएका छन् ।
वित्त विषयमा स्नातकोत्तर गरेका गिरी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन् । उनी रत्ननगर जेसीज र लायन्स क्लब अफ चितवन राइनो सिटीका पूर्वअध्यक्ष तथा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वसदस्यसमेत हुन् । विभिन्न सामाजिक संघसंस्था तथा मठमन्दिरमा नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीको सामाजिक सक्रियता उनको राजनीतिक यात्रासँग पनि जोडिएको छ ।

 

गिरीले आफ्नो उम्मेदवारीसँगै नगर कार्यसमितिका अन्य पदमा उम्मेदवारी दिने टिमसमेत सार्वजनिक गरेका छन् । उनको टिमबाट खुला उपसभापतिमा हरि लामिछाने, महिला उपसभापतिमा शरला रेग्मी, सचिवमा सुरेशजंग पाण्डे र सहसचिवमा सुशीला चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्य सावित्रीदेवी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा रत्ननगरका नगरप्रमुख तथा नगर सभापति प्रल्हाद सापकोटा, नेता किरण भूषण ओली, राजुप्रसाद सिलवाल र वडा सभापति ईश्वरप्रसाद खनालले मन्तव्य राखेका थिए । कार्यक्रम नगर सचिव अनिता अर्यालले सञ्चालन गरेकी थिइन् । अग्रजको सम्मान, युवाको सहभागिता र संगठनको रूपान्तरणलाई मुख्य आधार बनाएका गिरीको उम्मेदवारीले रत्ननगर कांग्रेसभित्र नेतृत्व र पुस्तान्तरणको बहसलाई थप चर्चामा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट