रत्ननगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वी चितवनको रत्ननगर नगर सभापति पदमा युवा नेता उमेश गिरीले आफ्नो सशक्त टिमसहित उम्मेदवारी घोषणा गरेका छन्। रत्ननगर–३ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भई हाल क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालिरहेका गिरीले पार्टीभित्र युवा पुस्ताको सशक्त प्रतिनिधित्व र समयसापेक्ष रूपान्तरणको मुख्य एजेन्डासहित नेतृत्वमा दाबी पेस गरेका हुन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत गिरीले आफ्नो उम्मेदवारी घोषणा गर्दै उपसभापति (खुल्ला) मा हरि लामिछाने, उपसभापति (महिला) मा सरला रेग्मी, सचिवमा सुरेशजंग पाण्डे र सहसचिवमा सुशिला चौधरी रहने गरी टिम सार्वजनिक गरेका हुन्।
लामो समयदेखि पार्टीको सांगठनिक सुदृढीकरण, भ्रातृ संस्था परिचालन र वैचारिक अभियानमा निरन्तर क्रियाशील गिरीको राजनीतिक निष्ठा र प्रतिबद्धता उच्च मानिन्छ। बदलिँदो राजनीतिक स्थितिमा कांग्रेसलाई सशक्त, एकताबद्ध र प्रविधिमैत्री बनाउन सक्षम नेतृत्वको आवश्यकता महसुस गरी आफूले सभापतिमा उम्मेदवारी दिएको गिरीले स्पष्ट पारेका छन्।
पार्टीको नगर सदस्य, क्षेत्रीय सदस्य, प्रवक्ता हुँदै क्षेत्रीय सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका गिरीसँगै अनुभवी र ऊर्जावान पदाधिकारीको टिम मैदानमा उत्रिएपछि रत्ननगर कांग्रेसका कार्यकर्ता माझ नयाँ उत्साह छाएको छ।
राजनीतिसँगै सामाजिक सेवा र व्यावसायिक क्षेत्रमा स्वच्छ तथा आदरणीय छवि बनाएका गिरी विभिन्न सामाजिक संघसंस्थामा समेत अब्बल नेतृत्वका रूपमा स्थापित छन्। फाइनान्स विषयमा स्नातकोत्तर गरेका गिरी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, रत्ननगर जेसीज एवं लायन्स क्लब अफ चितवन राइनो सिटीका पूर्वअध्यक्ष तथा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वसदस्य हुन्। स्थानीय तहमा उद्यमशीलता प्रवर्द्धन, सामाजिक विकास र संकटका बेला मानवीय सहायतामा सक्रिय रहँदै आएका उनको गतिशील नेतृत्वले रत्ननगरमा कांग्रेसलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
संविधान सभा सदस्य सावित्रीदेवी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका प्रमुख एवं नगर सभापति प्रलाद सापकोटा, नेताहरू किरणभूषण ओली, राजुप्रसाद सिलवाल र वडा सभापति ईश्वरप्रसाद खनालले आ-आफ्नो धारणा राख्नुभएको थियो। नगर सचिव अनिता अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पार्टीका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij