Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

१३ देशका लागि राजदूत सिफारिसमा शाहीको आपत्ति, भने- ‘मापदण्डविपरीत भयो’

१३ देशका लागि राजदूत सिफारिसमा शाहीको आपत्ति, भने- ‘मापदण्डविपरीत भयो’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले मापदण्डविपरीत १३ मुलुकका लागि राजदूत सिफारिस गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैँले तय गरेको मापदण्ड कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका हुन्।

सिफारिस भएका अधिकांश व्यक्ति अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न क्षेत्रसँग जोडिएका पृष्ठभूमिका रहेको भन्दै उनले सरकारमाथि प्रश्न उठाए। ‘सरकारले आफैँले बनाएको मापदण्ड किन लागू गर्न सकेन ? यसलाई सुशासन भनिँदैन, यो कुशासन हो । यस्तो के आपत्ति आइलाग्यो ? यो दुईवटा कारणले आउन सक्छ-विदेशी दबाब कि अर्बौंको चलखेल। यसको जवाफ चाहिन्छ,' उनले भने ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो । सिफारिसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन रहेका छन्।

यस्तै जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्। सरकारको राजदूत सिफारिससम्बन्धी निर्णय अब संसदीय सुनुवाइ र त्यसपछि नियुक्तिको प्रक्रियामा जानेछ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट