Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कपाल काटेर आएन’ भन्दै गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकले कार्यालयमा लगेर कुटे विद्यार्थी, कानमा गम्भीर चोट

कपाल काटेर आएन’ भन्दै गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकले कार्यालयमा लगेर कुटे विद्यार्थी, कानमा गम्भीर चोट

गैँडाकोट : नवलपुरको गैँडाकोट–२ स्थित गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । शिक्षकको कुटपिटबाट विद्यार्थीको बायाँ कानको जालीमा ८० प्रतिशत क्षति पुगेको परिवारले जनाएको छ ।

पीडित विद्यार्थीकी सानिमा नन्दिता थापा मगरका अनुसार आइतबार विद्यालयमा पठनपाठन भइरहेको समयमा कपाल काटेर नआएको भन्दै शिक्षकले विद्यार्थीलाई कार्यालय कोठामा लगेर कुटपिट गरेका थिए । कुटपिटबाट विद्यार्थीको बायाँ कानमा चोट लाग्नुका साथै दायाँ आँखाको मुनि निलडाम बसेको उहाँले बताउनुभयो ।

“कुटपिटपछि बाबुको बायाँ कानको जालीमा ८० प्रतिशत क्षति पुगेको अस्पतालको रिपोर्टमा देखिएको छ । दायाँ आँखाको मुनिपट्टि पनि निलडाम बसेको छ,” थापा मगरले भन्नुभयो ।

घटनापछि विद्यार्थीलाई आइतबार नै भरतपुर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार पुनः भरतपुरस्थित नेसनल सिटी अस्पतालमा परीक्षण गराउँदा पनि कान र आँखामा चोट देखिएको परिवारले जनाएको छ ।

विद्यार्थीका आमाबुबा वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका छन् । परिवारले विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीमाथि नै कुटपिट हुनु गम्भीर विषय भएको जनाएको छ ।

यसैबीच, विद्यालयका प्राचार्य हीरालाल अर्यालले विद्यार्थीमाथि शिक्षकबाट कुटपिट भएको घटना स्वीकार गर्नुभएको छ । उहाँले घटनामा संलग्न शिक्षक डोलराज थापालाई विद्यालयबाट निष्कासन गर्ने र विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यहोर्ने बताउनुभयो ।

“घटना भएलगत्तै अभिभावकसँग एकप्रकारको सहमति गरेका छौँ । विद्यार्थी कुट्ने शिक्षकलाई निष्कासन गर्ने र घाइते विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यहोर्ने भनेका छौँ,” प्राचार्य अर्यालले भन्नुभयो ।

विद्यालयले विद्यार्थीमाथि हुने कुनै पनि प्रकारको हिंसा स्वीकार नगर्ने नीति लिएको उहाँको भनाइ छ । शिक्षकहरुलाई नियमित रूपमा बालमैत्री व्यवहार गर्न सचेत गराउँदै आएको र विद्यालयको नीति विपरीत जाने शिक्षकलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

प्राचार्य अर्यालका अनुसार शिक्षक थापालाई निष्कासन गर्ने पत्र तयार भइसकेको छ । सोमबार नै पत्र दिएर उनलाई विद्यालयबाट हटाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट