Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नैबेद’का पाठकले भने– ‘पहिलो कथा गज्जब आयो, अब कस्तो आउँछ?’

नैबेद’का पाठकले भने– ‘पहिलो कथा गज्जब आयो, अब कस्तो आउँछ?’

भरतपुर : चितवनका लेखक विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ पछिल्लो समय पाठकमाझ चर्चामा छ। गत असार २० गते सार्वजनिक भएको सङ्ग्रहमा १४ वटा कथा समेटिएका छन्।

कृतिमाथि सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटघाटमार्फत प्रतिक्रिया पाइरहेका लेखक रिजालले शनिबार भने प्रतिनिधि पाठक, साहित्यकार, समीक्षक तथा साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरेका छन्।

‘सम्पूर्ण किताब’ नारायणगढले आयोजना गरेको कार्यक्रममा ‘नैबेदमा के छ ?’ शीर्षकमा कृतिमाथि छलफल गरिएको थियो। कार्यक्रममा सहभागी अधिकांश पाठकले कथासङ्ग्रहमा विविध विषय, सरल प्रस्तुति, प्रभावकारी संवाद र पाठकलाई बाँधिराख्ने शैली रहेको प्रतिक्रिया दिएका थिए।

साहित्यकार डीआर पोखरेलले रिजालको कथा भन्ने शैली र संवाद संरचनाको प्रशंसा गरे। सेवानिवृत्त शिक्षा प्रशासक बाबुराम दवाडीले ‘नैबेद’ पढेपछि लेखकबाट राष्ट्रियस्तरका स्थापित कथाकारको स्तरको लेखन अपेक्षा गर्न सकिने धारणा राखे।

पत्रकार तथा उच्च शिक्षा अध्यापक मधुसूदन दवाडीले पहिलो कृतिमै हासिल भएको उचाइलाई आगामी लेखनमा कायम राख्नु लेखकका लागि चुनौती हुने बताए। कवि सूर्यवदना हमालले केही कथा निकै मर्मस्पर्शी रहेको उल्लेख गर्दै पाठकको मन छुन सक्नु कथाकारको सफलताको आधार भएको बताइन्।

कवि तथा शिक्षक विपिन पाठकले ‘भोग’ कथालाई सङ्ग्रहकै बलियो कथामध्ये एकका रूपमा चर्चा गरे। वातावरण अभियन्ता अपिल घिमिरेले ‘क्याप्टेन डाँडा’ मन परेको बताए भने कवि मेनका चापागाईंले कथाहरूमा पाइने विविधता र सशक्त महिला पात्रलाई सङ्ग्रहको महत्वपूर्ण पक्षका रूपमा उल्लेख गरिन्।

शैक्षिक बेथितिमाथि लेखिएको ‘टाई’, महिला पात्रबीचको द्वन्द्व प्रस्तुत गर्ने ‘बोक्सी’ तथा मान्छे र कृत्रिम बुद्धिमत्ता (एआई) बीचको सम्बन्धमा आधारित पहिलो कथा ‘अर्की गर्लफ्रेन्ड’ माथि पनि पाठकले विशेष चर्चा गरेका थिए।

पाठकहरूले कथाको विषयवस्तु र प्रस्तुतिसँगै पुस्तकको आवरणको समेत प्रशंसा गरेका थिए। केही सहभागीले भने वर्णविन्यास, घटना प्रस्तुतिको शैली तथा वैचारिक स्पष्टताका क्षेत्रमा सुधार गर्न सकिने सुझाव दिएका छन्।

कथाकार रिजालले प्राप्त सुझावलाई आगामी लेखनका लागि मननयोग्य भएको बताए। उनले कथा कस्तो भयो भन्ने विषयमा पाठकलाई स्वतन्त्र रूपमा प्रतिक्रिया दिने अधिकार रहेको धारणा राखे।

कार्यक्रम सहजीकरण गरेका ‘सम्पूर्ण किताब’का सञ्चालक लेखराम सापकोटाले चितवनबाट प्रकाशित कृतिमध्ये छोटो समयमै उल्लेख्य चर्चा पाउने पुस्तकका रूपमा ‘नैबेद’ देखिएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट