बुटवल : पाल्पाको तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा आज दिउँसो फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी भालेबासमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा पूर्वखोला गाउँपालिका–१, पाल्पाका २९ वर्षीय चालक नरबहादुर राना रहेका छन्। उनको अवस्था मध्यम रहेको छ। त्यस्तै, पूर्वखोला गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर राजमगर सामान्य घाइते भएका छन्। पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु मध्यम घाइते भएकी छन्। उनकी ७ वर्षीया छोरी साहिरस सारु पनि मध्यम घाइते भएकी छन्।
यसैगरी, पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चा गम्भीर घाइते भएकी छन्। उनकी ५ वर्षीया नातिनी सायरा खाम्चा मध्यम घाइते भएकी छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पााल्पाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij