सुर्खेत : नेपाली कांग्रेस १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ । शनिबार र आइतबारभित्र वडा अधिवेशन गरिसक्ने लक्ष्यअनुसार कर्णालीका करिब ७५ प्रतिशत वडामा अधिवेशनको काम सम्पन्न भएको छ । कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजङ शाहीले हालसम्म करिब ७५ प्रतिशत वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिए ।
‘अधिवेशन सबैतिर चलिराख्या छ, केही वडामा नहुन सक्ला तर अधिकांशमा आज बेलुकासम्म वडा अधिवेशन सम्पन्न हुन्छ,’ उनले भने । कांग्रेस कर्णालीमा केही दिन अघिसम्म दुई भागमा विभाजित थियो । यद्यपि वडा अधिवेशन सुरु हुँदासम्म सिङ्गो कर्णाली एक ठाउँमा आएको छ ।
पूर्णबहादुर खड्का आफू नखुले पनि आफ्ना पक्षधर मानिने सबै परिचित नेतालाई वडा अधिवेशनमा पठाएका छन् । उनी पक्षका सबैजसो नेता गगनतर्फ खुलेका छन् । खड्का पक्ष मानिने कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभापति ललितजंग शाहीदेखि सबैजसो नेता वडा अधिवेशनका खटिएका छन् । खड्काले भने आफू अहिले कतै नलाग्ने सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै, यसअघि शेखर कोइराला पक्ष मानिने अधिकांश नेता पनि वडा अधिवेशनमा सामेल छन् ।
देउवा पक्ष मानिने पूर्वमन्त्री ऐनबहादुर शाही (मुगु), कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाही देउवा पक्षमै छन् । यस्तै, युवा नेता भूपेन्द्रजंग शाहीले भने सहमतिबिना अधिवेशन सुरु गरिएको भन्दै आफू सहभागी नहुने सामाजिक सञ्जालमा लेखेका छन् । ‘सहमतिबिना ३ र ४ गते एकलौटी महाधिवेशन सुरु गर्नु भनेको कांग्रेस पार्टी विभाजनको औपचारिक रेखा कोर्नु हो,’ उनले भनेका छन्, ‘म कुनै पनि स्वार्थ, पद प्राप्ति र फाइदाको लागि आफ्नो विचार र अडान छोडेर भिडको पछि कुद्ने मान्छे होइन ।’
यसअघि खड्का पक्षधर मानिने जीवनबहादुर शाही, ललितजंग शाही, पूर्वमन्त्री हृदयराम थानी, प्रदेश सभामा मन्त्री भइसकेका, सांसद भइसकेका सबैजसो नेता वडा अधिवेशनबाट प्रतिनिधि चयन भइसकेका छन् । दैलेखमा यसअघि आरजू राणाकी विश्वासपात्र मानिएकी पूर्वकेन्दीय सदस्य सीता राना पनि प्रतिनिधि चयन भइसकेकी छन् ।
कर्णालीका पूर्वमन्त्री तथा देउवा पक्षका नेता घनश्याम भण्डारी पनि प्रतिनिधि चयन भइसकेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij