काठमाडौं : जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले कीर्गिस्तानमाथि सोझो सेटको जित निकालेको छ। समूह ‘ए’ का दुवै खेलमा पराजित नेपालले क्लासिफिकेसन म्याचमा कीर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हराएको हो। खेलभरि दबाब कायम राखेको नेपालले पहिलो सेट २५–२० ले जित्दै सुरुआती अग्रता बनाएको थियो।
दोस्रो सेटमा झन् प्रभावशाली प्रदर्शन गर्दै २५–१६ को जित निकालेको नेपालले तेस्रो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै खेल ३–० ले जितेको हो। नेपालको जितमा मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १२ अंक जोडिन् । मिडल ब्लकर सलिना बुढामगर र सुनिता खत्री तथा आउटसाइड हिटर उषा भण्डारीले समान ९ अंक योगदान गरे।
अब नेपालले ९औँदेखि १२औँ स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। पदक होडबाट बाहिरिसकेको नेपाल समूह चरणमा आयोजक जापान र इन्डोनेसियासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो।
शनिबारबाट सुरु भएको प्रतियोगिता अक्टोबर ४ अर्थात् असोज १८ गतेसम्म सञ्चालन हुनेछ । २०औँ एसियन गेम्समा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्। जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। यस्तै, २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक सहभागी छन्।
नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसुमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा ४३ खेल समावेश छन् भने ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij