काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको दाबी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले पार्टीभित्र दुई पक्षले १५औँ महाधिवेशनका लागि छुट्टाछुट्टै गतिविधि अघि बढाइरहेका बेला विभाजन रोक्न आफूहरूले अन्तिम प्रयास गरिरहेको बताएका हुन्। 'अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,' उनले लेखेका छन्।
खड्काले कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सभापति गगनकुमार थापाको नेतृत्वमा अघि बढेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन्। उनका अनुसार निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै सर्वोच्च अदालतले मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको छ। मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक’ लागेकाले सहभागी नभएको उनले बताएका छन्।
'सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दिएको छ। सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ,' उनले थप लेखेका छन्। महाधिवेशनका गतिविधि रोक्न सर्वोच्चमा निवेदन दिए पनि अदालतले कार्यतालिका रोक्ने आदेश नदिएको भन्दै खड्काले कांग्रेसको नाममा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको बताएका छन्।
सम्भावित पार्टी विभाजनले कांग्रेस मात्र नभई नेपालको लोकतन्त्रमा समेत असर पार्न सक्ने उल्लेख गर्दै उनले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई गम्भीरतापूर्वक लिई अग्राधिकारसहित छिटो टुंग्याउन आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij