Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सूर्यमुखी तेलमा नयाँ मापदण्ड : भ्रामक शब्दावली र दाबी पूर्ण प्रतिबन्ध

सूर्यमुखी तेलमा नयाँ मापदण्ड : भ्रामक शब्दावली र दाबी पूर्ण प्रतिबन्ध

काठमाडौँ  : सरकारले प्याकेटमा भ्रामक उल्लेख गरी उपभोक्ताको स्वास्थ्यसँग भइरहेको खेलबाड रोक्न सूर्यमुखी तेलको नयाँ मापदण्ड बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली भान्सामा व्यापक प्रयोग हुने सूर्यमुखी (सनफ्लावर) तेलको गुणस्तर, प्याकेजिङ तथा लेबलिङ मापदण्डलाई सरकारले थप कडा र वैज्ञानिक बनाएको छ । 

‘नेपाल गुणस्तर ३७८ः२०५४’ को पहिलो संशोधन गर्दै नयाँ मापदण्डको मस्यौदा तयार गरेको हो । परिमार्जित मापदण्डअनुसार उपभोक्तालाई भ्रममा पार्ने गरी तेलका बोतल तथा प्याकेटमा ‘मुटुका लागि राम्रो’, ‘कोलेस्टेरोल घटाउने’ वा ‘डबल रिफाइन्ड’ जस्ता बढाइचढाइ गरिएका विज्ञापन तथा दाबी गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

साथै तेलमा हानिकारक विषाक्त धातुहरूको अधिकतम सीमा तोक्नुका साथै प्रयोग भइसकेका पुराना भाँडा (कन्टेनर) मा पुनः तेल प्याक गर्न रोक लगाइएको छ ।

भ्रामक शब्दावली र दाबीमा पूर्ण प्रतिबन्ध

नयाँ मापदण्डले सूर्यमुखी तेलको लेबलिङ तथा विज्ञापनमा व्यापक कडाइ गरेको छ । तेल उत्पादकहरूले उपभोक्तालाई आकर्षित गर्न प्रयोग गर्दै आएका प्रचारमुखी शब्दहरूमा रोक लगाइएको छ । मापदण्डअनुसार अब कुनै पनि सूर्यमुखी तेलको प्याकेट, लेबल वा विज्ञापनमा ‘सुपर रिफाइन्ड’, ‘एक्स्ट्रा रिफाइन्ड’, ‘माइक्रो रिफाइन्ड’, ‘डबल रिफाइन्ड’, ‘अल्ट्रा रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’, ‘सुदिङ टु हार्ट’ (मुटुलाई आरामदायी), ‘कोलेस्टेरोल फ्रेन्डली’ तथा ‘स्याचुरेटेड फ्याट फ्रि’ जस्ता शब्दहरू प्रयोग गर्न पाइने छैन । विभागले यस्ता शब्दावलीलाई गुणस्तरको अनावश्यक बढाइचढाइका रूपमा व्याख्या गर्दै निषेध गरेको हो । 

पुराना भाँडाको पुनः प्रयोगमा रोक र कडा प्याकेजिङ नियम

परिमार्जित मापदण्डले खाने तेलको प्याकेजिङमा स्वच्छता कायम गर्न महत्त्वपूर्ण व्यवस्था गरेको छ । सूर्यमुखी तेललाई विभागले तोकेको मापदण्ड (एनएस ७२, एनएस १३१ वा एनएस ३६०) अनुसारका उपयुक्त टिन वा प्लास्टिकका कन्टेनरमा मात्र प्याक गर्नुपर्नेछ । 

सबैभन्दा महत्त्वपूर्ण कुरा, एक पटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका भाँडालाई पुनः खाने तेल तथा घ्यू प्याकिङ गर्न प्रयोग गर्न पाइने छैन ।

यसैगरी, औद्योगिक प्रयोजनका लागि उत्पादित तेल (जस्तैः सल्भेन्ट एक्स्ट्र्याक्टेड ग्रेड–१) सिधै खानका लागि अयोग्य मानिएको छ । यस्तो तेललाई उपभोक्ताले सिधै किन्ने साना प्याकहरूमा बिक्री गर्न निषेध गरिएको छ । यस्ता औद्योगिक कच्चा तेलका ठूला कन्टेनरहरूमा कम्तीमा ५० मिलिमिटर साइजको स्पष्ट अक्षरमा ‘प्रत्यक्ष खानका लागि उपयुक्त छैन’ (नट फर डाइरेक्ट एडिबल कन्जम्प्सन) भनी नमेटिने मसीले अनिवार्य रूपमा लेख्नुपर्नेछ । 

विषाक्त धातु, रसायन र एफ्लाटोक्सिनको कडा सीमा

उपभोक्ताको दीर्घकालीन स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नयाँ मापदण्डमा हानिकारक हेभी मेटल्स (विषाक्त धातु) र ढुसीजन्य विष (एफ्लाटोक्सिन) को अधिकतम सीमा निर्धारण गरिएको छ ।

विषाक्त धातुको सीमा (मिलिग्राम प्रति किलोग्राममा) : 

सिसा  ः बढीमा ०.१ मिलिग्राम 
आर्सेनिक : बढीमा ०.१ मिलिग्राम 
क्याडमियम : बढीमा १.० मिलिग्राम 
मर्क्युरी : बढीमा ०.२५ मिलिग्राम 

यसैगरी, क्यान्सरजन्य मानिने ढुसीको विष एफ्लाटोक्सिनको मात्रा बढीमा ३० माइक्रो–ग्राम प्रति किलोग्राम भन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ । तेलको स्वच्छता मापन गर्ने पेरोक्साइड भ्यालु बढीमा १० मिलिग्राम प्रतिकिलोग्राम) तोकिएको छ भने सल्भेन्ट विधिबाट निकालिएको रिफाइन्ड तेलमा हेक्सेन रेसिडबढीमा ५.०० पिपिएम सम्म मात्र हुनुपर्नेछ । 

तेलको भौतिक तथा रासायनिक गुणस्तर

परिमार्जित मापदण्डले सूर्यमुखी तेललाई ‘एक्सप्रेस्ड’ (पेलिएर निकालिएको) र ‘सल्भेन्ट एक्स्ट्र्याक्टेड’ (रसायन विधिबाट निकालिएको) गरी दुई किसिममा वर्गीकरण गरेको छ । यी दुवै प्रकारका रिफाइन्ड तेल र एक्सप्रेस्ड ग्रेड–१ तेल सिधै खानयोग्य मानिएका छन् । 

मापदण्डअनुसार खाने तेलको भौतिक तथा रासायनिक विशेषताहरू निम्नानुसार हुनुपर्नेछ : 

स्पष्टता : तेललाई ३० डिग्री सेल्सियस तापक्रममा २४ घण्टा राख्दा कुनै पनि धमिलोपन देखिनु हुँदैन ।
रिफ्र्याक्टिभ इन्डेक्स (४० डिग्रि सेल्सिएसमा) : १.४६६० देखि १.४६९० सम्म 
स्यापोनिफिकेसन भ्यालुः १८८ देखि १९४ सम्म 
आयोडिन भ्यालु : ११० देखि १४३ सम्म 
एसिड भ्यालु : रिफाइन्ड तेलका लागि बढीमा ०.५, एक्सप्रेस्ड ग्रेड–१ का लागि बढीमा ३.० र सल्भेन्ट ग्रेड–१ का लागि बढीमा ४.० 
आद्रता तथा अघुलनशील फोहोरः रिफाइन्ड तेलमा बढीमा ०.१ प्रतिशत  हुनुपर्ने उल्लेख छ ।

अनिवार्य लेबलिङ र कानुनी दायित्व पुरा गर्नुपर्ने 

नयाँ मापदण्डअनुसार बजारमा बिक्रीका लागि पठाइने प्रत्येक तेलको बट्टा वा प्याकेटमा नेपाली वा अंग्रेजी भाषामा स्पष्टसँग अनिवार्य लेबलिङ गर्नुपर्ने  उल्लेख छ । जसमा  सामग्रीको नाम, प्रकार र ग्रेड,कन्टेनरमा रहेको खुद तौल , उत्पादकको नाम, ठेगाना र दर्ता भएको ट्रेडमार्क, ब्याच नम्बर वा लट नम्बर, उत्पादन भएको महिना र वर्ष उल्लेख गर्नुपर्ने छ । 

उत्पादकहरूले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा मानक नाप र तौल ऐन, २०२५ का नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ । साथै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्न र प्रयोग गर्न नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ बमोजिम विभागबाट इजाजत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट